राजसंस्था र प्रजातन्त्र सँगै जान सक्छ, परिवर्तनलाई रोक्न सकिन्न : राजेन्द्र लिङ्देन

0

काठमाडौँ, १ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले परिवर्तनको संघारमा पुगेको देशलाई कसैले रोक्न नसक्ने बताउनुभएको छ ।

शुक्रबार काठमाडौँमा आयोजित मिडिया नेपालको ९औँ वार्षिकोत्सव समारोहमा उहाँले देश एउटा परिवर्तनको संघारमा पुगेको भन्दै एक दुई जना कसैले चाहेर परिवर्तन नरोकिने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सबैभन्दा माथि देश छ, देशभन्दा माथि केही छैन । देश एउटा परिवर्तनको संघारमा पुगेको छ । यो अब एक दुई जना कसैले चाहेर रोकिने अवस्थामा छैन । त्यसकारण आफ्नो आस्थालाई केन्द्रमा राखेर आउन खोजेको परिवर्तनलाई, जनताको भावनालाई अन्देखा गर्ने र दुर्घटनातर्फ लाने काम कसैले गर्नु हुँदैन । यो रोकिनेवाला छैन । त्यसकारण गलत प्रचार गर्ने र समाजमा भ्रम सिर्जना गर्नेभन्दा पनि समाधानका सुझावहरु दिनुपर्छ ।’

यसको साथै उहाँले राजसंस्था र प्रजातन्त्र एकअर्काका विरोधी र विकल्प नभएको भन्दै राजसंस्था र प्रजातन्त्र सँगै जान सक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालमा राजासहितको प्रजातन्त्र चाहिन्छ भन्ने पार्टीको अध्यक्ष भएको नाताले आज सबैको उपस्थितीमा के आग्रह गर्न चाहान्छु भने राजसंस्था र प्रजातन्त्र एकअर्काका विरोधी र विकल्प होइन । राजसंस्था र प्रजातन्त्र सँगसँगै जान सक्छ, राजा र प्रजातन्त्र सँगै जान सक्छ ।’

सोही कार्यक्रममा पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जालसम्बन्धी विधेयक हरेक कुरालाई नियन्त्रण गर्ने र जसरी भए पनि अभिव्यक्ति स्वतन्त्रतालाई बन्द गर्ने भन्ने उद्देश्यका साथ आएको भन्दै यो विधेयक जस्ताको त्यस्तै पास भयो भने स्वतन्त्रता र प्रजातन्त्र पूरै मासिने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सामाजिक सञ्जाल सम्बन्धी जुन विधेयक छ यो अत्ति खतरानाक छ । विधेयक जस्ताको त्यस्तै पास भयो भने यो देशमा स्वतन्त्रता र प्रजातन्त्र पूरै मासिन्छ । यो सरकारको युनिटमा छ, यो व्यापक खतरनाक छ । कुनै पनि मान्छेले लेख्न, कुनै आइडी बनाउनको लागि देखि हरेक कुरालाई नियन्त्रण गर्ने र जसरी भए पनि अभिव्यक्ति स्वतन्त्रतालाई बन्द गर्ने भन्ने उद्देश्यका साथ आएको छ ।’

पार्टीका नेता धवल शमशेर राणाले नेपालमा चलेको परिवर्तनको हावालाई अहिलेका मिडिया हाउसहरुले स्वीकार नगरेको भन्दै कति दिन नजरअन्दाज गर्ने हो हेर्नै बाँकी रहेको बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...