सरकारको विश्वसनियता सकिएकै कारण राजतन्त्रवादी हौसिए : प्रचण्ड

12

काठमाडौँ, २७ फागुन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको विश्वसनियता सकिएकै कारण राजतन्त्रवादी हौसिएको बताउनुभएको छ ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा उहाँले वर्षौँसम्म बन्द कोठामा समेत राजतन्त्र पुनःस्थापनाको सपना देख्न डराएकाहरु आज सडकमै आएर राजतन्त्र पुनःस्थापनाको चुनौती दिन थालेको भन्दै यो सरकारको कमजोरीले गर्दा भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारको विश्वसनियता सकिएकै देखेर आज पुरातनपन्थी राजतन्त्रवादी हौसिएका छन् । वर्षौँसम्म बन्द कोठामा समेत राजतन्त्र पुनःस्थापनाको सपना देख्न डराएकाहरु आज सडकमै आएका छन् र सडकबाटै राजतन्त्र पुनःस्थापनाको चुनौती दिन थालेका छन् । राजावादीहरुको यो चहलपहलका पछाडि संगठित प्रयास छ भन्ने कुरा हामीलाई थाहा छ । यसमा देशभित्र र बाहिरका चलखेल पनि मिसिएका छन् ।’

यसको साथै उहाँले जनताको बलिदान र लामो संघर्षबाट प्राप्त उपलब्धिलाई उल्टाउने कोसिस भएको भन्दै अब एकातिर सरकारका गलत क्रियाकलापका विरुद्ध र अर्कातिर प्रतिगामी चलखेलका विरुद्ध एकैसाथ जुध्नु पर्ने अवस्था सिर्जना भएको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘जनताको बलिदान र लामो संघर्षबाट प्राप्त उपलब्धिलाई उल्टाउने कोसिस हुँदै छ । हामीले अब एकातिर सरकारका गलत क्रियाकलापका विरुद्ध र अर्कातिर प्रतिगामी चलखेलका विरुद्ध एकैसाथ जुध्नु पर्ने अवस्था सिर्जना भएको छ । सरकारको बेथिति र असफलताले जनतामा व्यवस्थाप्रति नै निराशता बढाउँदै लगेको छ । सरकारमा बसेका साथीहरुलाई मेरो प्रश्न छ, हरेक वर्ग र समुदायले अब आन्दोलन बाहेक अरु विकल्प नै देख्न छाडेको हो ?’

Share This:
सम्बन्धित खबर
Loading...