काठमाडौँ, २६ फागुन । नेकपा (माओवादी केन्द्र)ले जनताले रगतको पोखरीमा पौडी खेल्दै गणतन्त्र ल्याएकाले राजा फर्कने कुरा असम्भव रहेको जनाएको छ ।
सोमबार बसेको पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रवक्ता अग्नि सापकोटाले संसारभरि नै अहिले अराजकता र अन्यौल जस्तो स्थिति रहेको भन्दै धमिलो पानीमा माछा मार्न सकिन्छ कि भनेर सोच बनाउनु सपना मात्र हुने बताउनुभयो ।
उहाँले भन्नुभयो,‘ हामीले गणतन्त्र त रगतको पोखरीमा पौडी खेल्दै ल्याएका हौ नि त । हामीलाई जनताप्रति धेरै विश्वास छ । संसारभरि अहिले अराजकता छ । अन्यौल जस्तो स्थिति छ । यही परिस्थितिमा धमिलो पानीमा माछा मार्न सकिन्छ कि भन्ने आत्मारतिमा कोही लागेका छन् । त्यो सपनामा मात्रै हुन्छ । सफल हुँदैन ।’
त्यस्तै, उहाँले राजाले शासन छाडेपछि पनि माओवादीले राजसंस्था ल्याउन खाजेको थियो भन्ने जनतालाई भ्रमित पार्ने उद्देश्यले आरोप लगाइएको बताउनुभयो ।
उहाँले भन्नुभयो,‘माओवादीले राजा ल्याउने कुरा कल्पनापनि गर्न सक्दैन । माओवादीले ल्याउन खोजेको भनेर एउटा भाष्य बनाउन खोजिएको मात्र हो । जनतालाई भ्रमित पार्ने उद्देश्य अन्तरनिहीत छ । जनता भ्रमित हुँदैनन् ।’