जनप्रतिनिधि विधि र नियमभन्दा माथि हुन सक्दैन : मन्त्री सिंह

9

काठमाडौँ, २६ फागुन । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले निर्वाचित हुँदैमा कोही पनि जनप्रतिनिधि विधि र नियमभन्दा माथि नहुने बताउनुभएको छ ।

सोमबार आफ्नै निर्वाचन क्षेत्र काठमाडौँ १ नयाँ बानेश्वरमा रहेको शिद्धेश्वर महादेव मन्दिरको शिलान्यास गर्नुहुँदै उहाँले जनप्रतिनिधि विधि र नियमअनुसार चल्नुपर्ने बताउनुभयो । त्यस्तै, उहाँले संघ, प्रदेश र स्थानीय तीनै तहका जनप्रतिनिधि र स्थानीय मिलेर काम गरे विकास निर्माणका काम सहज हुने पनि बताउनुभयो ।

उहाँले तीनै तहको सरकार विधि र नियमअनुसार चल्नुपर्नेमा जोड दिनुभयो । ‘निर्वाचित हुँदैमा विधि र कानुनभन्दा माथि कोही पनि हुँदैन । जनप्रतिनिधि भइसकेपछि म विधिभन्दा माथि छु भन्ने ठानेपछि अलोकतान्त्रिक र तानाशाही भएको गन्ध आउँछ,’ उपप्रधानमन्त्री सिंहले भन्नुभयो,‘ स्थानीय नागरिकको चाहना र जनप्रतिनिधिबीच कम्युनिकेसन सही रुपमा नहुँदा समस्या आउने गरेको छ । जनचाहना बुझेर जनप्रतिनिधिले विधि र नियमअनुसार काम गर्नुपर्छ ।’

त्यस्तै, उपप्रधानमन्त्री सिंहले तानाशाहबाट देश र समाज विकास हुन नसक्ने पनि बताउनुभयो । आफ्नै भोगाइले त्यस्तो निष्कर्षमा पुगेपछि समाजेसवाका लागि सशक्त माध्यम भएकाले राजनीतिमा आएको पनि उहाँको भनाइ छ ।

‘राजनीतिमा आएको ठुलो मान्छे बन्न होइन । पदमा भएपनि नभएपनि केही छैन । प्राप्त अधिकार सुरक्षित र संस्थागत गर्दै नेपाली जनताको जीवन र जिविकोपार्जन सहज बनाउन दलहरु मिलेर काम गर्नुपर्छ,’ उहाँले भन्नुभयो । त्यस्तै, उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री सिंहले उपत्याकाको नदी प्रणाली सुधार गर्नुपर्ने भन्दै त्यसका लागि सबैको साथको आवश्यक्ता रहेको बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...