लोकतन्त्र र गणतन्त्र ल्याए भन्नेहरु लुटतन्त्र मच्चाइरहेका छन् : राजेन्द्र लिङ्देन

14

काठमाडौँ, २४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले देश एउटा विशिष्ट स्थितिका बीच अगाडि बढिरहेको बताउनुभएको छ ।

शनिबार पर्सामा आयोजित कार्यक्रममा उहाँले मुलुकमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र ल्याए भन्नेहरु आज गणतन्त्रको नाममा लुटतन्त्र मच्चाएर बसिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले देश एउटा विशिष्ट स्थितिका बीच अगाडि बढिराखेको छ । मुलुकमा प्रजातन्त्र ल्याए, लोकतन्त्र ल्याए, गणतन्त्र ल्याए भन्नेहरु आज गणतन्त्रको नाममा लुटतन्त्र मच्चाएर बसिरहेका छन् । उनीहरु देशभित्रै रोजगारी सिर्जना गर्ने, देशभित्रै युवाहरुले गरिखाने वातावरणको निर्माण गर्ने दिशामा होइन देशका उद्योग धन्दाहरु समेत बन्द गरेर कमिसन खाने र युवाहरुलाई विदेश जान बाध्य बनाउने काममा निरन्तर लागिरहेका छन् ।’

साथै उहाँले आज देशको जति राजश्व छ, जति आम्दानी छ त्यसले कर्मचारीलाई तलब दिनसमेत पुग्न नसकेको बताउनुभयो । उहाँले कर्मचारीहरुलाई तलब खुवाउनकै लागि विदेशीहरुबाट ऋण लिनुपरेको अवस्था रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाली जनताले र राजा स्वयंले पनि आज भन्दा झण्डै दुई दशक अगाडि देशको भलो हुन्छ होला, देशको प्रगति हुन्छ होला । जनताले सुख पाउने र समृद्धि पाउने दिन आउँछ होला भनेर दलहरुलाई देश जिम्मा लगाएको थियो । तर, देश कुन अवस्थाबाट अगाडि बढिराखेको छ ? आज देश देशको जति राजश्व छ, आम्दानी छ त्यसले कर्मचारीलाई तलब दिन समेत पुगिरहेको अवस्था छैन । तलब खुवाउनैकै लागि विदेशिहरुबाट ऋण लिनुपरेको अवस्था छ ।’

यसैगरी राप्रपाका सांसद दीपक सिंहले देशमा अहिलेको सत्तामा रहेकाहरुले शिक्षा, स्वास्थ्य, कृषि सबै ध्वस्त पारिसकेको बताउनुभयो । उहाँले सत्तामा बसेकाहरुले देशलाई अगाडि बढाउनुको साटो जातजातमा, धर्मधर्ममा फाइट र काटमार हुने वातावरण सिर्जना गरिरहेको बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...