रौतहट, २४ फागुन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनसंख्याका आधारमा महिलाको समानुपातिक प्रतिनिधित्व हुनुपर्नेमा जोड दिनुभएको छ ।
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुहुँदै प्रचण्डले आर्थिक समानता र जनंख्याका आधारमा प्रतिनिधित्व हुनुपर्ने बताउनुभयो ।
‘साँचो अर्थमा महिलाहरुको मुक्ति र समानताका लागि राज्यसत्ताका हरेक तहमा जनसंख्याका आधारमा प्रतिनिधित्व तथा श्रोत र साधनमा समेत उनीहरुको स्वामित्व सुनिश्चित भएमा मात्रै सम्भव छ,’ उहाँले उल्लेख गर्दै भन्नुभयो, ‘राजनीतिक अधिकार प्राप्त भए पनि आर्थिकरुपमा समानता कायम नभएसम्म र उत्पादनका सबैखाले साधनमाथि महिलाहरुको स्वामित्व सुनिश्चित नहुँदासम्म वास्तविक अर्थमा महिला मुक्ति सम्भव छैन ।’
८ मार्च समानताको अधिकारका लागि संघर्षको मोर्चामा होमिएका विश्वभरिका महिलाका लागि गौरव र प्रेरणाको दिन भएको र यो दिनले आधा आकाश ओगटेका महिलालाई पुरुषसरह हरेक तहमा समान सहभागिता, स्वामित्व र सम्मानका लागि प्रेरित गर्दै आएको उहाँले बताउनुभयो ।
‘यही मान्यताका आधारमा नेपालमा समेत महिलाले आन्दोलन गर्दै आएको र ऐतिहासिक संघर्षको जगमा निर्मित संविधानले महिला अधिकारलाई सुनिश्चित गर्दै नीति निर्माण र राज्य सञ्चालनका सम्पूर्ण अंगहरूमा समानुपातिक प्रतिनिधित्व स्थापित गरेको छ,’ उहाँले भन्नुभयो, ‘यद्यपि, व्यवहारतः महिलामाथिको हिंसा, विभेद, दमन अझै अन्त्य हुन सकेको छैन । त्यसैले महिलामाथि हुने सबै खालका विभेदको अन्त्य गर्न संवैधानिक अधिकारको प्रभावकारी कार्यान्वयन र जनसंख्याका आधारमा समानुपातिक प्रतिनिधित्व कायम गर्दै आर्थिकरुपमा समेत अधिकार प्राप्तिका लागि अघि बढ्न म सबैमा आह्वान गर्दछु ।’
माओवादी केन्द्र सुशासन, सामाजिक न्याय र समृद्धि हासि गर्दै समाजवादी क्रान्तिको आधार तयार गर्ने बाटोमा अघि बढिरहेको छ र अहिले जनतासँग माओवादी, तराई मधेस जागरण अभियानमा रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यो अभियानले महिलालगायत आम उत्पीडित वर्ग र समुदायका संविधानप्रदत्त अधिकार कार्यान्वयन गर्न थप जागरुक, संगठित र आन्दोलित गर्ने कुरा व्यक्त गर्नुभयो ।
विज्ञप्तिमा ८ मार्चले महिलामाथि भइरहेका संरचनात्मक हिंसा, दमन, शोषण र विभेदको अन्त्यका लागि प्राप्त अधिकारको कार्यान्वयनतर्फ सचेत र संगठितरुपमा अघि बढ्ने प्रेरणा प्रदान गर्ने विश्वास समेत उहाँले व्यक्त गर्नुभएको छ ।