संविधान कार्यान्वयन गर्न मानसिकता परिवर्तन हुनुपर्छ : रेखा शर्मा

17

काठमाडौँ, २२ फागुन । नेकपा (माओवादी केन्द्र)की नेतृ एवम् पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानमा रहेको अधिकारहरु वास्तविक जीवनमा कार्यान्वयन नभएको बताउनुभएको छ ।

बिहीबार काठमाडौँमा अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित अन्तरक्रियामा उहाँले संविधानले महिलाका लागि थुप्रै राजनीतिक अधिकारहरु रहे पनि त्यसको कार्यान्वयन नभएको भन्दै मानसिकता परिवर्तन गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘महिलाहरुलाई हिंसा गरिन्छ दाइजोको नाममा, अहिलेसम्म महिनावारी हुँदा छाउगोठमा बस्नुपर्छ भने अर्कातिरको चेतना हेर्दा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री महिला हुनुपर्छ भन्ने चेतना पनि छ । कानुन, संविधान सबै कुरामा राजनीतिक अधिकार लेखेर मात्र हुँदैन रहेछ । समाज बदल्नुपर्ने रहेछ । समाजको मानसिकता परिवर्तन गर्नुपर्ने रहेछ । यो कुरामा सरकारको तर्फबाट त्यही खालको अभियानहरु चलाउने र प्रशासनिक क्षेत्रबाट त्यसलाई दृढतापूर्वक कार्यान्वयन गर्ने हो भने मात्र पाएका सबै अधिकारहरु प्रयोग गर्न सक्छौँ ।’

यस्तै, उहाँले अहिलेको सरकार विस्तारै समावेशिताको अधिकारको विपक्षमा गइरहेको पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिलेको सरकारको गतिविधि हेर्ने हो भने सरकार समावेशिताको अधिकारको विपक्षमा गइरहेको छ । संविधान संशोधनका कुराहरु आइरहेका छन् । प्रतिनिधि सभालाई पूर्ण प्रत्यक्ष बनाउने भन्ने कुरा आएको छ । एमाले र काङ्ग्रेसका नेताले बिगार्ने अनि राजनीतिक अस्थिरताको कारण उत्पीडित समुदायलाई न्याय गर्न सक्ने देखिँदैन ।’

यसका साथै महिलाहरुको सहभागिता ३३ प्रतिशतबाट ५१ मा पुर्‍याउनका लागि पहिला ३३ प्रतिशत सफल हुनुपर्ने पनि उहाँको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...