सरकार सांसद किनबेचमा लाग्नु लाजमर्दोे विषय हो : प्रभु साह

10

काठमाडौँ, २१ फागुन । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले सरकार सांसद किनबेचमा लागेको भन्ने कुरा सुनिएको भन्दै त्यसबारे सरकारको जवाफ माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्नुहुँदै साहले अहिलेको २१औँ शताब्दीमा, यो आधुनिक युगमा सांसद किनबेचको विषय हुनु लाजमर्दो भएको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘सरकार सांसद किनबेचमा लागेको भन्ने कुरा सुनिराखेका छौँ । सत्ता गठबन्धनकै प्रमुख नेताले अध्यादेश पारित गराउनका लागि सरकारले यो काम गरिरहेको भनेर आरोप लगाइराखेका छन् । अहिलेको २१औँ शताब्दीमा, यो आधुनिक युगमा सांसद किनबेचको विषय लाजमर्दो छ । सिंगो संसद नै अपमानित हुने यो विषयमा सभामुखज्यू गम्भीर हुन जरुरी छ । यो विषय यसरी संसद्को नै अपमान हुनेगरी प्रसारित हुँदा सरकारले पनि जवाफ दिन जररी छ । होइन भने एउटा जिम्मेवार सांसदले यसरी आरोप लगाउन मिल्छ कि मिल्दैन ? मिल्छ भने यसमा कानुन लाग्छ कि लाग्दैन भनेर म विशेष आग्रह गर्न चाहन्छु ।’

केही दिनअघि उपेन्द्र यादवले सरकार अध्यादेश पारित गराउनका लागि सांसद किनबेचमा लागेको भनेर आरोप लगाउनुभएको थियो । त्यहीँ विषयमा आज साहले संसद्मा कुरा उठाउनुभएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...