काठमाडौँ, २१ फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल दूरसञ्चार प्राधिकरणको पुँजीगत खर्च एकदमै कमजोर भएको बताउनुभएको छ ।
मंगलबार नेपाल दूरसञ्चार प्राधिकरणको २७औँ वार्षिकोत्सव समारोहमा बोल्नुहुँदै उहाँले पुँजीगत खर्च कमजोर भएकाले बजेट खुम्चिएको बताउनुभयो ।
उहाँले भन्नुभयो,‘नेपाल दूरसञ्चार प्राधिकरणको पुँजीगत खर्च एकदमै कमजोर छ । त्यो संकेत अहिले पनि देखिरहेको छ । गएको वर्ष कमजोर खर्चका कारणले १.५ प्रतिशत मात्र बजेट पायौँ । हाम्रो योजना ३ अरब ३१ करोडमाथिको थियो । पुँजीगत खर्च कमजोर भएकाले बजेट खुम्चिएको छ । सरकारको विधि यस्तै छ । तर, त्यो खर्च कहाँ हुन्छ ?’
उहाँले प्राधिकरणको ऐन परिवर्तन भइरहने भन्दै आफ्नो अनुकुल नियमावली बनाउनु ठुलो रोग भएको बताउनुभयो ।
उहाँले राम्रो सरकारका लागि अध्यादेश ल्याएको भन्दै अध्यादेश विरोध गर्नुपर्ने कारण नभएको बताउनुभयो । मन्त्री गुरुङले सुशासनका लागि पुँजीगत खर्चमा देखिएका बाधाहरु पनि अध्यादेशबाट हट्ने बताउनुभयो ।