रौतहट, १९ फागुन । रौतहटको गुजरा नगरपालिकाका लाभग्राहीले सामाजिक सुरक्षा भत्ता पाउनबाट बञ्चित भएका छन् । विगत चार महिनादेखि उनीहरुले सामाजिक सुरक्षा भत्ता पाउन नसकेका हुन् ।
एनआइसी एसिया बैंकको कमी कमजोरीका कारण यहाका लाभग्राहीले भत्ता पाउनबाट बञ्चित भएको गुजरा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष रामजित चौधरी बताउनुभयो ।
उहाँका अनुसार करिब ८ हजार लाभग्राहीहरु सामाजिक सुरक्षा भत्ता पाउन बाट बञ्चित छन् । गत पुुस महिनामा नै गुजरा नगरपालिकाले बैंकको खातामा सामाजिक सुरक्षा वापतको रकम पठाए पनि हालसम्म पाउन नसकेको वडा नम्बर २ का वडा अध्यक्ष अशोक खाँ थारुले बताउनुभयो ।
सो नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष झमकप्रसाद चौलागाईं, वडा नम्बर ५ का वडा अध्यक्ष शेख जमालुदिन, वडा नम्बर ७ का वडा अध्यक्ष शेख अबदुल्का र वडा नम्बर ९ का वडा अध्यक्ष प्रेम चौधरी संयुक्त रुपमा बैंकमा पुगि छिटोभन्दा छिटो सामाजिक सुरक्षा भत्ता वितरण गर्न आग्रह गरेका छन् ।
अब चाँडै सामाजिक सुरक्षाभत्ता वितरण नगरेमा बैंकमै तालाबन्दी गर्ने उनीहरुले चेतावनी समेत दिएका छन् ।
सिमराभवानीपुरमा रहेको एनआइसी एसिया बैंकका शाखा प्रबन्धक एमडी सदाम प्रवेजले अब चाँडै नै सामाजिक सुरक्षाभत्ता वितरण गरिने बताउनुभयो ।
केवाइसी अपडेट नभएकाले समस्या भएको उहाँको भनाइ छ । रमजान चलिरहेको र होली नजिक आएकाले भत्ता समयमा नै दिन पालिकावासीले माग गरेका छन् ।