जनकपुर, १९ फागुन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा जनशक्ति निरन्तर विदेश पलायन भइरहेकाले देशको औद्योगिक तथा आर्थिक विकास ठप्प परेको बताउनुभएको छ ।
आइतबार जनकपुरधाम उद्योग वाणिज्य संघमा उद्योगी–व्यवसायीसँगको भेटमा अध्यक्ष प्रचण्डले औद्योगिक र आर्थिक विकास बिना समृद्धि सम्भव नहुने उल्लेख गर्नुहुँदै उहाँले युवा जनशक्ति बाहिरिँदा औद्योगिक गतिविधिहरू प्रभावित भइरहेको बताउनुभयो ।
डलरको लोभ तथा राष्ट्रभक्तिको भावना कमजोर हुँदै जाँदा विदेशिने होड चलेको छ । यसलाई रोक्न नैतिक र राष्ट्रभक्तिको शिक्षा आवश्यक रहेको उहाँले बताउनुभयो ।
त्यस्तै, अध्यक्ष प्रचण्डले राजनीतिक स्थिरता तथा सुशासनका लागि कार्यकारी शासकीय प्रणाली आवश्यक रहेको बताउनुभयो ।
अहिलेको शासकीय प्रणालीमा स्थिरता कायम गर्न कठिन रहेको उहाँले स्पष्ट पार्नुभयो । उहाँले जनकपुरधाम ऐतिहासिक सहर भए पनि राजनीतिकीरणका कारण वीरगञ्ज र विराटनगरभन्दा पछि परेको बताउनुभयो । अब जनकपुरधामको विकासका लागि आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
जनकपुर रेलवे सुधारका लागि मालवाहक बोगी थप्न पहल गर्ने उहाँले बताउनुभयो । भारतसँग भएको विद्युत् व्यापारले नेपालको आर्थिक विकासमा ठुलो योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीको अध्यक्षतामा आयोजित भेटघाट कार्यक्रममा व्यापारीहरूले नेपालमा औद्योगिक विकासको कमी, युवा पलायन जस्ता विषयमा अध्यक्ष प्रचण्डको ध्यानाकर्षण गराएका थिए ।