सरकार स्वार्थ समूहको हितमा काम गरिरहरको छ : शक्ति बस्नेत [भिडिओ]

18

काठमाडौँ, १८ फागुन । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेतले वर्तमान सरकार देश र जनताको आवश्यकतालाई छोडेर सीमित स्वार्थ समूहको हितमा काम गरिरहरको बताउनुभएको छ ।

प्रेस सेन्टर नेपाल एसोसिएट प्रदेशको दोस्रो अधिवेशनको उद्घाटन गर्नुहुँदै बस्नेतले एउटा राष्ट्रसेवक कर्मचारीविरुद्ध सरकारले सार्वजनिक मञ्चबाटै विरोधमा उत्रिनु र पटक पटक स्पष्टीरकण सोध्नु शोभनीय कार्य नभएको बताउनुभयो ।

‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेझैँ सरकार देश र जनताको आवश्यकतालाई लत्याउँदै सीमित स्वार्थ समूहको हितमा काम गरिरहेको छ’ बस्नेतले भन्नुभयो ।

उहाँले सरकारले आफ्नो असक्षमतालाई लुकाउन कुलमान घिसिङलाई पटकपटक स्पष्टीकरण सोध्ने गरेको बताउनुभयो । सरकारले दुई तिहाइको बहादुरिता एउटा राष्ट्रसेवक कर्मचारीमाथि नदेखाउन समेत सुझाव दिनुभयो ।

नेपाली कांग्रेस र नेकपा (एमाले)ले संविधानको प्रगतिशील चरित्रलाई परास्त गर्न संविधान संशोधनको कुरा अगाडि ल्याएको बताउनुभयो । व्यवस्था बदलिएको र अब जनताको अवस्था बदल्न लाग्नुपर्नेमा सरकार परिवर्तका एजेण्डालाई सीमित गर्न लागि परेको बताउनुभयो ।

पूर्वगृहमन्त्री समेत रहनुभएका बस्नेतले माओवादीको अगुवाइमा अहिलेको परिवर्तन आएको तर त्यसको नेतृत्व अरुले गरेका कारण अहिलेको समस्या देखा परेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिलेको परिवर्तन माओवादीको पहल र एजेण्डाका कारण सम्भव भएको हो तर नेतृत्व अरुले गरेका कारण त्यसको मूल मर्मअनुसार काम हुन सकेको छैन ।’

सरकार आफैँले ल्याएको अध्यादेशका कारण गम्भीर नैतिक संकटमा फसेको बस्नेतले बताउनुभयो । संसद् नचलेको वा चल्न नसक्ने अवस्थामा अध्यादेश ल्याउन पाउन सरकारको कानुनी अधिकार भए पनि रातारात अध्यादेश ल्याइएको बताउनुभयो ।

अर्को प्रसंगमा बोल्नुहुँदै बस्नेतले आफ्नो पार्टीले झापाबाट कञ्चनपुरसम्म हुलाकी राजमार्गमा अभियान जारी राखेको बताउनुभयो । उहाँले पार्टी अध्यक्ष प्रचण्ड नेतृत्वका सरकारले सुरु गरेको सुशासनको अभियानलाई रोक्न वर्तमान सरकारले लागेको खबरदारी गर्न अभियान सुरु गरिएको बताउनुभयो । अभियानमा जनताको व्यापक सहभागिता रहेको बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...