- दानबहादुर बुढा
मुगु, १८ फागुन । गत १६ गते शुक्रबार रातिदेखि परेको अविरल वर्षासँगै परेको हिमपातले नाग्म–गमगढी सडक खण्ड अवरुद्ध हुँदा यात्रुहरु अलपत्र परेका छन् ।
जुम्लाको भुलभुलेबाट मुगुको सतमोडसम्म सडक अवरुद्ध हुँदा यात्रु बीच बाटोमा अलपत्र परेका हुन् । बाक्लो हिउँ जमेकाले भुलभुले नजिक सडकमा सवारीसाधन आउजाउ गर्न कठिन भइरहेको छ । हिउँले सडक बन्द भएपछि राराताल घुम्न आउने आन्तरिक तथा बाहृय पर्यटकहरू अलपत्र परेका हुन् ।
मालसामाना, खाद्यान्न, निर्माण सामग्री र यात्रु बोकेका १५ वटा गाडी दुई दिनदेखि बीचमै रोकिएको यात्रु शिवचन्द्र कार्कीले बताउनुभयो ।
हिमपातले बन्द सडक सञ्चालनका लागि सडक डिभिजन कार्यालयसँग सहकार्य गरी जेसिभीले हिउँ पन्छाउने काम भइरहेको छ ।
सडकभरि हिउँ परेको छ भने रुख ढलेर थप समस्या आएको छ । सकभर आज बेलुकीसम्म हिउँपातले बन्द सडक खुलाउने तयारी भएको मुगुका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले जानकारी दिनुभयो । -नेपाल न्यूज बैंक