माओवादी र मधेसी जनताबीच बलियो एकता कायम छ : प्रचण्ड

17

काठमाडौँ, १८ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसी जनताको मुक्तिका लागि ठुलो बलिदान गरेको माओवादीकै विषयमा अनेकथरी भ्रम सिर्जना गर्ने प्रयास गरिएको बताउनुभएको छ।

धनुषाको कमला नगरपालिका ३ पर्सामा आयोजित सहिद परिवार सम्मान तथा जनभेटघाटमा उहाँले अब सो भ्रमको पर्दा च्यातेर माओवादी र मधेसी जनताबीच दह्रो एकता कायम गर्ने प्रयास गरिएको बताउनुभयो ।

उहाँले महिला, जनजाति, दलित, मधेसी, मुस्लिम, थारुलगायत उत्पीडित जनताको मुक्तिका लागि हजारौँ सहिदले बलिदा गरेको र मधेसी जनताको मुक्तिका लागि एक हजार तीन सय मधेसी जनताका छोराछोरीले जनयुद्धमा बलिदान गरेको बताउनुभयो ।

मधेसी जनताको मुक्तिका लागि मधेसी राष्ट्रिय मुक्ति मोर्चा गठन गरेर मधेसी जनतामा जागरणको लहर ल्याउने, मधेस स्वायत्त जनसरकारमार्फत् संघीयताको व्यवहारिक अभ्यास गर्ने, संविधानमार्फत् संघीयत, समानुपातिक र समावेशी प्रतिनिधित्व स्थापित गर्ने, गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिको रुपमा रामराजाप्रसाद सिंहलाई अघि सार्ने र मधेसको विकासका लागि प्राथमिकताका साथ बजेट विनियोजन गर्नेलगायत महत्त्वपूर्ण काम आफ्नै पार्टीले गरेको उहाँले स्पष्ट पार्नुभयो ।

अध्यक्ष प्रचण्डले अब आफूलाई मधेसका मसिहा ठान्ने दलहरूबाट मधेसी जनताको मुक्ति सम्भव नभएकाले मधेसमुक्तिको जिम्मा सम्पूर्णरुपमा माओवादीले नै लिने प्रतिबद्धता व्यक्त गर्नुभयो । पार्टीका सबै पदाधिकारी अहिले मधेसमा रहेको र मधेसी पोशाकमै प्रस्तुत भएको प्रसङ्ग कोट्याउँदै उहाँले यो पोशाक मात्रै नभइ आफूहरुको मन पनि मधेसमा छ भन्ने विम्व भएको स्पष्ट गर्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...