इटहरी, १७ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एवम् पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले शिक्षकहरूलाई पुराना पार्टीहरूले दुरुपयोग मात्रै गरेको बताउनुभएको छ ।
शनिबार सुनसरीको रामधुनीमा पार्टीका कार्यकर्तालाई सम्बोधन गर्नुहुँदै श्रेष्ठले अहिलेको शैक्षिक नतिजा पार्टीले शिक्षकको दुरुपयोग गरेर आएको उल्लेख गर्नुभयो ।
‘शिक्षकजस्तो सम्मानित पेसालाई राजनीतिक रूपमा दुरुपयोग मात्रै गरियो,’ उहाँले भन्नुभयो, ‘त्यो शिक्षण पेसालाई दलीय राजनीति मुक्त नबनाउन्जेलसम्म केही हुने वाला छैन ।’ सांसद श्रेष्ठले तालाबन्दीले विद्यालयमा पढ्ने वातावरणको सिर्जना नभएको उल्लेख गर्नुभयो ।
व्यवहारिक शिक्षाको आवश्यक्ता औँल्याउनुहुँदै श्रेष्ठले दक्ष जनशक्ति बनाउन आवश्यक रहेको बताउनुभयो । श्रेष्ठ पार्टीले जिल्लामा आयोजना गरेका विभिन्न कार्यक्रममा सहभागी हुनुभएको छ ।