काठमाडौँ, १७ फागुन । गृहमन्त्री रमेश लेखकले लागु औषध समाजमा अत्यन्तै चुनौतीका रुपमा देखा परेको बताउनुभएको छ । शनिबार ‘लागु औषधविरुद्धको महाअभियान’ शुभारम्भ कार्यक्रममा बोल्नुहुँदै उहाँले लागु औषध समाजका लागि एउटा घातकको रुपमा देखा परेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘लागु औषध अत्यन्तै चुनौतीका रुपमा देखिसकिएको छ । समाजका लागि एउटा घातकको रुपमा देखा परेको छ । खास गरेर युवाहरुमा यसले अत्यन्तै नकारात्मक असर पारिरहेको छ । समाजकै लागि चुनौतीपूर्ण बन्दै गइरहेको छ । व्यक्ति व्यक्तिलाई यसले समाप्त गर्दै छ । समग्र समाजलाई यसले खोक्रो बनाउँदै छ । समाजलाई यसले आक्रान्त गरिरहेको छ भयानक रुपले । जो व्यक्ति लागु औषधको दुर्व्यसनमा परेको छ उसको त जीवन समाप्तीतर्फ गएकै छ । तर, समग्र परिवारले अत्यन्त पीडा र चिन्तामा जीवन निर्वाह गर्नुपरेको अवस्था छ ।’
साथै उहाँले समाजमा हुने सबैभन्दा बढी अपराधको जड नै लागु औषध भएको बताउनुभयो । उहाँले यौनजन्य हिंसाका पछि समेत लागु औषध नै जोडिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘समाजमा हुने सबैभन्दा बढी अपराधको जड नै लागु औषध बनेको छ । यौनजन्य हिंसाका पछि समेत लागु औषध नै जोडिएको छ । झण्डै ३३ प्रतिशतभन्दा बढी मानिसहरु लागु औषधको दुर्व्यसनमा परेका छन् । एक दिनमा १७ जना मानिस आत्महत्या गरेर मरिरहेका छन् । मानिस लागु औषध सेवन गर्छ र डिप्रेसनमा जान्छ यसको पछि पनि लागु औषध नै छ ।’