काठमाडौँ, १७ फागुन । उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थायित्व, स्थिरता र सरकारको महत्त्व बुझाउनका लागि वर्तमान सरकार बनेको बताउनुभएको छ ।
शनिबार काठमाडौँमा आयोजित जनपयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्नुहुँदै उहाँले राजनीतिक स्थिरताका लागि वर्तमान सरकार बनेको भन्दै भएका कमी कमजोरीहरुलाई पहिचान गर्दै सुधार गर्नेतर्फ सरकार अघि बढेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘जनताले सरकारको आयुको त ठेगान छैन, सरकार बनेको केही महिनामा नै अर्को सरकार बन्छ, सरकारको नै सुनिश्चितता छैन भने त्यस्तो सरकारले हाम्रो लागि के काम गर्छ भनेर सोच्न थालेको हुनाले राजनीतिक स्थायित्व, स्थिरता र सरकारको महत्त्व बुझाउनका लागि वर्तमान सरकार बनेको हो । कमी कमजोरीहरुलाई पहिचान गर्दै सुधार गर्दै अघि बढ्नेतर्फ सरकार गइरहेको छ ।’
यसको साथै उहाँले सहकारीप्रतिको नकरात्मक भावलाई चिर्दै सहकारी राम्रो हो भन्ने कुरालाई आफ्नो गतिविधिबाट देखाउनुपर्ने पनि बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘यस्तो संकटको समयमा खास गरेर नेपालको अर्थतन्त्रको तीन खम्बे अर्थनीतिमा सहकारीको ठुलो योगदान रहनुपर्ने भएको हुनाले पनि जुन तपाईहरुको सहकारी छ यसले अहिलेको अवस्थालाई चिर्दै सहकारी राम्रो हो भन्ने कुरालाई आफ्नो गतिविधिबाट देखाउनु हुन्छ भन्ने विश्वास लिएको छु ।’
जीवनयापन गर्न सहज वातावरण सिर्जना हुनुपर्छ भन्ने हरेक नेपालीको चाहना भएको भन्दै यसलाई पूरा गर्नका लागि राजनीतिक स्थिरता दिनपर्छ र त्यसका आधारमा अरु सबै कामहरु गर्न सकिन्छ भनेर लागिरहेको पनि उहाँको भनाइ छ ।