काठमाडौँ, १२ फागुन । अडिसनबाट छनोट हुँदै ‘रणवीर’ सिनेमाबाट नेपाली रजतपटमा डेब्यु गर्नुभएकी सुपुष्पा भट्ट ‘फेरि रेशम फिलिली’बाट सिल्भर स्क्रिनमा फर्किंदै हुनुहुन्छ ।
सिनेमा आर्टको ब्यानरमा निर्माण भएको सिनेमा उहाँको होम प्रोडक्सन हो । सिनेमाका निर्माता उहाँका पति रौनक विक्रम कँडेल हुनुहुन्छ ।
सिनेमा रिलिजका लागि केही दिनहरू मात्र बाँकी छन् । रिलिज मिति नजिकिँदै गर्दा सिनेमाका बारेमा गफिँदा सुपुष्पामा सिनेमा र सिनेमामा आफूले गरेको कामप्रति ‘फिङ्गर क्रस’ भाव देखिन्थ्यो । यद्यपि, कुराकानी बढ्दै जाँदा सिनेमा राम्रो बनेकोमा उहाँ ढुक्क भएको महसुस गर्न सकिन्थ्यो । सिनेमामा ‘फिलिली गर्ल’ बन्दैछु भन्ने थाहा पाउँदा उहाँलाई कस्तो लागेको थियो त ?
सुपुष्पा भन्नुहुन्छ,’सबैभन्दा माथि पुगेजस्तो भयो । एकदमै खुसी लागेको थियो । प्रोडक्सन हाउस राम्रो, निर्देशक मेहनती, स्क्रिप्ट राम्रो र बलियो छ भन्ने थाहा भएकाले हो । राम्रो सिनेमामा काम गर्न पाएँ भनेर खुसी भएँ ।’
निर्देशक निरोज महर्जनले लेख्नुभएको सुपुष्पाको चरित्रका लागि कस्तो देखिने र कुन नेपथ्यको हो भनेर जस्तो प्रकारले लेखेका थिए, त्यसमा सुपुष्पा ठ्याक्कै फिट हुन्थिन् । त्यसैले उहाँले अरूलाई खोज्ने कष्ट गर्नुभएन पनि । यो सिक्वेलमा लगभग पहिलो श्रृंखलाका सबै कलाकार छन् । यो सिनेमाको लिडिङ महिला पात्रमा भने उहाँ नयाँ अनुहार बनेर आउनुभएको छ । त्यसैले उहाँलाई पहिलो सिनेमाको चुनौती सामना गर्ने चुनौती छ ।
सिनेमा फागुन १४ गते शिवरात्रिका दिन रिलिज हुँदै छ । सिनेमामा विनय श्रेष्ठ, सुपुष्प भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश दाहाल, सजन थापा लगायतको पनि अभिनय छ ।
सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्धन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत र सुरेन्द्र पौडेलको सम्पादन सिनेमामा रहेको छ ।
सिनेमा आट्र्स र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको सिनेमामा रौनक विक्रम कँडेल निर्माता तथा कार्यकारी निर्माता सुरज बम ठकुरी र सहनिर्मातामा एनी थापा हुनुहुन्छ । पोस्टर डिजाइन ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले गर्नुभएको हो । गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दै छन् ।