पोखरा, ९ फागुन । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् पार्टीको पेसागत तथा बुद्धिजीवी विभाग प्रमुख डा.डिला सङ्ग्रौलाले वर्तमान संविधान संशोधन गर्न आवश्यक भएको बताउनुभएको छ ।
शुक्रबार नेपाली कांग्रेस गण्डकी प्रदेशद्वारा शनिबार पोखरामा आयोजना गरिने ‘संविधान संशोधन आवश्यकता र चुनौती’ विषयक गण्डकी प्रदेशस्तरीय अन्तरक्रिया कर्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेता डा.सङ्ग्रौलाले वर्तमान निर्वाचन प्रणालीबाट कुनै पार्टीको बहुमत नआउने र जनताको चाहना पूरा गर्न सक्ने अवस्था नभएकै कारण संविधान संशोधनमार्फत् निर्वाचन प्रणालीलगायतका समस्या समाधान गर्नेतर्फ कांग्रेस अगाडि बढ्ने बताउनुभयो ।
गणतन्त्रपछि पनि नेपाली जनताका चाहना पूरा गर्न नसकिएको स्वीकार गर्दै नेता डा.सङ्ग्रौलाले प्रदेश सरकारको औचित्यका बारेमा पनि नागरिकस्तरबाट कुरा उठ्न थालेको बताउनुभयो ।
नेपाली जनताका चाहनालाई पूरा गर्न ठुला राजनीतिक दलले संविधान संशोधन गरेर भए पनि अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । संविधान संशोधन गरेर भए पनि जनतालाई सुशासन दिने काममा कांग्रेस जुटेको उहाँले बताउनुभयो ।
नेता डा.सङ्ग्रौलाले यस क्षेत्रका कांग्रेसका विभिन्न पेसागत संगठनका प्रतिनिधिहरुको उपस्थितिमा संविधान संशोधनसम्बन्धी दुई कार्यपत्र प्रस्तुत गर्नुका साथै कार्यपत्रमाथि छलफल हुने जानकारी दिनुभयो ।