मकवानपुर, ९ फागुन । चर्च ब्वाइज युनाइटेड मकवानपुरको बागमती गाउँपालिकामा जारी सातौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार बागमती–४ स्थित सहिद स्मृति रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफलाई ३–२ गोलले हराउँदै चर्च ब्वाइज प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।
चर्च ब्वाइजको जितमा विदेशी आर्मण्डले खेलको दोस्रो हाफको २८औँ र ३२औँ मिनेटमा गोल गरे भने सुमित श्रेष्ठले खेलको ८५औँ मिनेट गोल गरे । एपिएफका लागि बुद्धिमान राईले खेलको पहिलो हाफको ३६औँ मिनेटमा र हरि कार्की दोस्रो हाफको ४३औँ मिनेटमा गोल गरे ।
खेलको म्यान अफ द म्याच आर्मण्ड घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे । जितसँगै चर्च ब्वाइज गोल्डकपको फाइनल प्रवेश गर्ने पहिलो टोली बनेको छ ।
प्रतियोगितामा एपीएफले संकटालाई र चर्च ब्वाइजले विभागीय टोली त्रिभुवन आर्मीलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो । एपिएफ गत संस्करणको उपविजेता टोली हो भने चर्च ब्वाइज प्रतियोगितामा नयाँ टोली हो । गत संस्करणमा एपिएफ मछिन्द्रसँग पराजित हुँदै उपविजेता बनेको थियो ।
प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा भोलि शनिबार मछिन्द्र फुटबल क्लब र थ्रीस्टारबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल सोमबार हुनेछ ।
प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्ने छन् । यस्तै, प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५–२५ हजार रुपैयाँ प्रदान गरिने जनाएको छ ।