काठमाडौँ, ६ फागुन । नेकपा (माओवादी केन्द्र)का सांसद सुदन किरातीले संसद्मा नागरिकका एजेण्डाहरुले स्थान पाउन छाडेको गुनासो गर्नुभएको छ ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्नुहुँदै उहाँले मिडिया खपतको लागि आरोप प्रत्यारोप गर्ने र दुर्व्यसनीको अड्डा संसद् बन्दै गइरहेको आरोप लगाउनुभयो ।
केही दिन अगाडि भएको प्रधानमन्त्रीसँगको सवाल जवाफमा भएको कुरुप चित्र देखेर संसार हाँसेको भन्दै उहाँले आज मुलुकलाई अहंकार होइन, धैर्यता, संयमता र उच्च नौतिकताको आवश्यकता रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो,‘ दुखका साथ भन्नुपर्छ हाम्रो संसद्मा नागरिकका एजेण्डाहरुले स्थान पाउन छाड्यो । बरु मिडिया खपतका लागि आरोप प्रत्यारोप गर्ने र दुर्व्यसनीको अड्डा संसद् बन्दै गइरहेको छ । केही दिन अगाडि भएको प्रधानमन्त्रीसँगको सवाल जवाफमा भएको कुरुपचित्र देखेर संसार हास्यो । आज मुलुकलाई अहंकार होइन, धैर्यता संयमता र उच्च नौतिकताको आवश्यकता छ । ’
त्यस्तै, उहाँले हिजो सोमबारको प्रतिनिधिसभाको बैठकमा मृतक प्रकृति लम्सालका बारेमा बोल्न प्रतिबन्ध लगाइएको भन्दै उहाँले आज बोल्न मिल्ने हिजो नमिल्ने ? नियमावलीले छेक्यो कि नियतले ? भन्दै प्रश्न गर्नुभयो ।