काठमाडौँ, ६ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.तोसिमा कार्कीले सरकारले सदनप्रति देखाएको अनुत्तरदायी र जवाफहीन व्यवहारले लज्जाबोध भइरहेको बताउनुभएको छ ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्नुहुँदै उहाँले आजभन्दा पाँच महिना अगाडि साउन २१ मा सदनमा नेपाल रेडक्रस सोसाइटीमा भएको चरम भ्रष्टाचारको विषयमा सरकारसँग जवाफ माग गरेको तर आजसम्म पनि त्यसको जवाफ नआएकोमा आपत्ति जनाउनुभयो ।
उहाँले भन्नुभयो,‘आज मलाई यो सरकारले सदनप्रति देखाएको अनुत्तरदायी जवाफहीन व्यवहार देखेर लज्जाबोध भइरहेको छ । आजभन्दा पाँच महिना अगाडि २१ साउन २०८१ मा यहीँ सदनमा उभिएर मैले नेपाल रेडक्रस सोसाइटीमा भएको चरम भ्रष्टाचारको विषय उठाएको थिए । महिला बालबालिका मन्त्रालय, समाज कल्याण परिषद्अन्तर्गत भएको १७औँ छानबिनको १७औँ प्रतिवेदन सार्वजनिक गरियोस् । दोषीलाई कारबाही गरियोस् भनेर माग गरे । टेन्डर खरिद गर्दा चलखेलको विषय र केन्द्रीय कार्यसमितिको बैद्यानिकताको विषयमा सरकारसँग जवाफ मागेको थिए । तर, न प्रतिवेदन सार्वजनिक भयो । न सरकारले जवाफ दियो । न सरकार संवेदनशील देखियो र त संसद् नै ।’