जलविद्युत् उत्पादकलाई हात बाधेर राखियो : अध्यक्ष कार्की

14

काठमाडौँ, ६ फागुन । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले जलविद्युत् उत्पादकलाई हात बाधेर राखिएको बताउनुभएको छ ।

नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको ‘जलविद्युत् आयोजनाः लगानी, सेयर व्यवस्थापन र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष कार्कीले १५ खर्ब रुपैयाँ लगानी भएको क्षेत्र अन्योलको अवस्थामा रहेको बताउनुभयो ।

सरकारले २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने र १५ हजार ५०० विद्युत् निर्यात गर्ने लक्ष्य राखेको छ। यसकोलागि ६२ खर्ब रुपैयाँ लाग्ने अनुमान छ ।

नेपाली ऊर्जा उत्पादकहरुले १ मेगावाटबाट सुरु गरेर अहिले क्षमता बढाएर १००–२०० मेगावाटका परियोजना निर्माण गर्न सक्षम रहेको अध्यक्ष कार्कीले बताउनुभयो । उहाँले ठुला आयोजनाका लागि मात्रै वैदेशिक लगानीकर्ता ल्याउनुपर्ने बताउनुभयो ।

संसदीय समिति र धितोपत्र बोर्डको कारण सर्वसाधरणलाई दिने सेयर रोकिएको कार्कीको भनाइ छ । ‘सरकारले १० प्रतिशत सेयर स्थानीय तहलाई दिनुपर्छ भन्ने कानुनी व्यवस्था गरेको छ,’ अध्यक्ष कार्कीले भन्नुभयो,‘स्थानीयले सेयर किन नदिएको भनी उत्पादकहरुको गाडी फुटाउन थालेका छन् । धितोपत्र बोर्डले आइपिओ स्वीकृत नदिएसम्म उत्पादकले त सेयर दिन सक्दैनौँ ।’

लेखा समितिको निर्देशनले आइपिओ निष्कासन रोकिएको बताउँदै उहाँले अब समितिले नै उक्त निर्णय सच्चाउनु पर्ने बताउनुभयो ।

‘संघिय संसद्कै लेखा समिति र अर्थसमितिबीच नै मत बाँझिएको छ,’ उहाँले भन्नुभयो,‘हामी व्यवसायी आयोजनामा ध्यान दिनुपर्नेमा विभिन्न निकायमा धाउँदै जानु परेको छ ।’

Share This:
सम्बन्धित खबर
Loading...