- प्रमिला कार्की
काठमाडौँ, ६ फागुन । लत्ता कपडा, विद्युतीय सामग्री एवम् अन्य दैनिक उपभोग्य सामग्रीको मुख्य केन्द्र मानिने काठमाडौँका असन, महाबौद्ध, न्यूरोड, इन्द्रचोकमा व्यवसायिक चहलपहल कम भएकोप्रति स्थानीय व्यापारीहरुले गुनासो गरेका छन् ।
आर्थिक मन्दी, सीमा नाकामा झन्झटिलो प्रक्रिया एवम् पार्किङलगायतका समस्याका कारण पहिलेको तुलनामा हाल व्यवसायिक चहलपहल कमी भएको उनीहरुको भनाइ छ ।
काठमाडौँको हब मानिने यी व्यापारिक केन्द्रमा व्यवसाय ठप्प हुने अवस्था आएको व्यापारीहरुको गुनासो छ । विशेषगरी भारत एवम् चीनबाट सामान आयात गर्न बढी झन्झटिलो भएको उनीहरुको भनाइ छ । आर्थिक मन्दी साथै सवारी साधन पार्किङको समस्याले पनि असर पारेको उनीहरुको भनाइ छ ।
महाबौद्ध क्षेत्रमा विगत सात वर्षदेखि कपडा व्यापार गर्दै आउनुभएका दीपक आचार्य चीनबाट सामान ल्याउँदा भन्सार दरमा तलमाथि भइरहने, सामानहरु समयमै आइनपुग्ने, कहिलेकाहीँ बाटोको समस्या हुँदा व्यापार गर्न समस्या हुने गरेको बताउनुभयो ।
‘पाँच हजार पिस सामान ल्याउँदा पाँचसय मात्र खपत हुने, बाँकी सेलमा बेच्नपर्ने अवस्था छ । यस वर्षको जाडो मौसममा पनि कपडाको व्यापार न्यून भयो,’ उहाँले भन्नुभयो । आयात गरिएको सामान खपत नहुँदा व्यापारीहरु पलायन हुने अवस्थामा रहेको उहाँले सुनाउनुभयो ।
साथै, उहाँले देशमा बस्ने वातावरण सिर्जना गर्ने मुख्य काम सरकारको भएकाले वातावरण निर्माण गर्न आग्रह गर्नुभयो । ‘देशमा बस्ने अवस्था किन भएन भनेर गम्भीर समीक्षा गर्नुपर्ने बेला आएको छ । ‘कुनै पनि आय स्रोतहरु नेपालमा छैन । रोजगारीको अवस्था छैन । यसलाई बढाउन विशेष भूमिका नै राज्यको हुन्छ । देशमा बस्ने वातावरण सिर्जना गर्ने मुख्य काम नै सरकारको हो, यसमा पर्याप्त काम गर्नुपर्ने देखिन्छ,’ उहाँले भन्नुभयो ।
हरेक कुरामा राजनीतिकरण नगरेर एउटा सरल ढंगले क्षमता भएको मान्छेलाई रोजगारीको अवस्था सिर्जना गरे सबै युवालाई स्वदेशमै बस्ने अवस्था बनाउन उहाँले सुझाव दिनुभयो ।
यस्तै, काठमाडौँमै विगत १९ वर्षदेखि कपडाकै व्यापार गर्दै आउनुभएका नन्दराज मैनालीले पहिलेको तुलनामा यस वर्षको बाक्लो कपडा व्यापार करिब ७५ प्रतिशतले घटेको बताउनुभयो । पहिलेका स्टक सामानहरु समेत नजाने कारणले टिक्न समेत नसक्ने अवस्थामा पुगेको गुनासो गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘व्यापार सुरुवात गर्दा भन्दा अहिले ७५ प्रतिशतले घटेको छ । भूकम्पपछि भन्दा पनि अहिलेको अवस्था कमजोर भइसक्यो । चीनबाट सामान ल्याउन पनि बैंकिङदेखि सीमा नाका र भन्सारमा समस्या छ । यतिबेला लगानी पनि नउठ्ने अवस्था छ । घर भाडा, स्टाफ खर्च तिर्न समस्या भइरहेको छ । अरु विकल्प छैन । बाध्यात्मक अवस्था छ ।’
भन्सारमा तिरेको शुल्कसमेत सामान बेचेर उठाउन नसकेको भन्दै उहाँले अहिले सबैभन्दा ठुलो मारमा व्यापारी परेको बताउनुभयो ।
‘चीनबाट ल्याउँदा ऐजेन्टलाई जिम्मा दिन्छौँ । उता सामानमा परेको मूल्य, भन्सार र यातायात खर्च जोड्दा १० प्रतिशत नाफा कमाउन मुस्किल छ । सामान बिकेन भने एक वर्षपछि कौडीको भाउमा जाँदैन । धेरै व्यापारीले स्टक सामान क्लियर गर्न गाह्रो छ । सबैभन्दा ठुलो मारमा परेको नै हामी व्यापारी छौँ,’ उहाँले भन्नुभयो ।
साथै, काठमाडौँ महानगरले सहजै रुपमा सवारी साधन पार्किङ गर्न नदिएकाले थप समस्या थपिएको उहाँले गुनासो गर्नुभयो ।
त्यस्तै, अर्का व्यापारी सुमन आचार्यको पनि समस्या उस्तै छ । आफूहरुले चीन लगायतका देशहरुबाट सामान आयात गर्दै गर्दा राज्यको सही नीति र गम्भीरता नभएको कारण सामान महँगोमा आउने गरेको बताउनुभयो । राज्यले विदेश जाने नेपाली युवाहरुलाई रोक्न नसक्दा धेरै सामान स्टक रहने, त्यसलाई अर्को सालसम्म लगानी गरेर राख्नुपर्ने अवस्था हुँदा व्यवसाय नै डगमगाएको उहाँ बताउनुहुन्छ ।
राज्यले विभिन्न नाममा कर लिने भएका हुनाले पनि मूल्य बढ्दै गएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘यसवर्ष पनि धेरै सामान स्टकमा छ । राज्यको सहि नीति नभएको हुनाले पनि होला, सामान किनेर ल्याउँदा धेरै झन्झट परिरहेको छ । राज्यले राम्रो नीति ल्याउने हो भने हुन्डीबाट पनि सामानहरु ल्याउन सकिन्छ । त्यसले राज्य र व्यवसायी दुवैलाई फाइदा हुन्थ्यो । राज्यले विभिन्न नाममा कर लिने भएकाले पनि मूल्य बढ्ने गर्छ ।’
यसमा थप्दै उहाँले भन्नुभयो, ‘विभिन्न कारणले पेशा व्यवसाय छाडेर वैदेशिक रोजगारमा जाने क्रम बढेको छ । राज्यको सहि नीति र दृष्टिकोण नहुँदा युवाहरुलाई व्यवस्थापन गर्न सकिरहेको छैन । गणतन्त्र भनेका छौँ तर नेताहरुले यसमा चासो नै दिँदैनन् । जसका कारण व्यवसाय पनि डगमगाएको अवस्थामा छ । जुन गतिमा हिजो व्यापार थियो, त्यो हुन सकेको छैन । धेरै सामान स्टक रहने, त्यसलाई अर्को सालसम्म लगानी गरेर राख्नुपर्ने अवस्था छ ।’ यस्तै, उहाँले ल्याएको भन्दा ५० प्रतिशत कम रेटमा पनि बेच्नुपर्ने अवस्था रहेको सुनाउनुभयो ।
उहाँले भन्नुभयो, ‘ल्याइएको सामान ५० प्रतिशत कम रेटमा पनि बेच्नुपर्ने, कति सामानहरु यतिकै बाँड्नुपर्ने जस्तो अवस्था छ । राज्यले विभिन्न नाममा कर लिने त्यसको व्यवस्थापन नगर्ने भएको हुनाले पनि यहाँका धेरै व्यवसायीहरु विस्थापित हुनुपर्ने अवस्था आएको छ ।’
विगतका तुलनामा यसवर्ष पनि बाक्लो कपडाको व्यापार खस्किएको अर्की व्यापारी सरस्वती खड्काले सुनाउनुभयो ।
उहाँ बजारमा नयाँ डिजाइनका सामानहरु माग हुने भएकाले पुराना स्टक सामानहरु बिक्री नहुँदा घाटा व्यहोरेर पनि सेलमा राखेर कटाउने गरेको दुखेसो सुनाउनुभयो ।
उहाँले भन्नुभयो, ‘मैले व्यवसाय सुरु गरेको ३० वर्ष हुन लाग्यो । केही वर्षअघि व्यवसाय ठिकै थियो । अहिले खस्किएको छ । अहिले भाडा तिर्न पनि धौँ धौँ परिरहेको छ । राजनीति अस्थिरता, आर्थिक मन्दी, युवाहरु विदेश पलायन, कामदारको अभावलगायतका कारणले समस्या व्यहोरिरहेका छौँ । स्टक क्लियर गराउन सेलमा राख्नुपर्ने र घाटा व्यहोर्नुपर्ने अवस्था छ ।’ -नेपाल न्यूज बैंक