ललितपुरलाई मेलम्चीको पानी आवश्यक छैन : डा.तोसिमा कार्की [भिडिओ]

15

काठमाडौँ, १ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा.तोसिमा कार्कीले देशभर अहिलेसम्म २६ प्रतिशतले मात्र स्वास्थ्य बिमा लिएको बताउनुभएको छ ।

बिहीबार नेपाल न्यूज बैंकसँग कुरा गर्नुहुँदै उहाँले ललितपुरमा स्वास्थ्य बिमा कार्यक्रम ल्याउनु सफल भएको भन्दै उहाँले स्वास्थ्य बिमामा सबैजना नजोडिएको बताउनुभयो ।

‘७७ जिल्ला मध्य ७६ जिल्लामा स्वास्थ्य बिमा आउँदा ललितपुरमा आएन, के ललितपुरले स्वास्थ्य बिमा नपाउने हो र ? मैले पटक पटक आवाज उठाएको थिएँ । स्वास्थ्य बिमा बोर्ड, स्वास्थ्य मन्त्रालय, महानगरसँग, पाटन अस्पतालसँग समन्वय गरेर स्वास्थ्य बिमा ल्याउन सफल भयौँ । यसलाई उपलब्धि रुपमा लिन्छु, सामूहिक प्रयासबाट काम भएको हो । यसले थप हौसला दिएको छ । देशभर अहिलेसम्म २६ प्रतिशतले मात्र स्वास्थ्य बिमा लिएको र ललितपुरमा बिमा कार्यक्रममा सबैभन्दा कान्छो हो । जिल्लाबासी सबैजनाले स्वास्थ्य बिमा लिनुहोला,’ उहाँले भन्नुभयो ।

ललितपुरको आफ्नो क्षेत्रमा खानेपानीको समस्या भए पनि स्रोतको सदुपयोग गर्न नसकिएको बताउनुभयो । उहाँले उक्त क्षेत्रमा मेलम्चीको खानेपानी आवश्यक नपर्ने र आफ्नै स्रोतबाट पर्याप्त खानेपानी उपलब्ध गराउन सकिने धारणा राख्नुभयो ।

‘वास्तबमा यहाँका पानीका स्रोतहरुलाई सही तरिकाले उपभोग गर्ने हो भने मेलम्ची ललिपुरमा आवश्यक पर्दैन । खानेपानी मन्त्रालयमा दुईतीन जना मन्त्रीहरु चेन्ज हुनुभयो । उहाँहरुसँग संवाद गरेको छु, पत्र लेखेको छु र वैकल्पिक स्रोतहरु खोजौँ भनेको छु । दक्षिणकाली, ठोस्नेखोला, तीनधारा, सरस्वती कुण्ड, ढुङगेधाराहरुको अवलोकन गरेर मेलम्ची आवश्यक नपर्ने देखेको हुँ । ढुङगेधाराहरुलाई वितरण प्रणालीमा लैजान सकिन्छ कि भनेर अध्ययन गरेका छौँ,’ उहाँले भन्नुभयो ।

सांसद डा.कार्कीले उपत्यकाका सडकहरुमा जथाभावी टिपरहरु गुड्ने गरेकाले त्यसको निश्चित रुट बनाउनुपर्ने धारणा राख्नुभयो । ‘टिपरहरु अनिवार्य रुपमा म्यान्डेटरी रुपमा करिडोरको बाटोमात्र प्रयोग गर्न दिनुपर्छ । त्यसको लागि करिडोर क्षेत्रको बाटो चाँडोभन्दा चाँडो निर्माण हुनुपर्छ,’ उहाँले भन्नुभयो ।

ललितपुर क्षेत्रमा अवैधरुपमा चलिरहेको क्रसर उद्योगहरु अनुसन्धान गरेर कारबाहीको दायरामा आउन पनि उहाँले माग गर्नुभयो । ‘अनुमति पत्र, लाइसेन्सको खोजी हुनुपर्छ । टिपरहरुको रोड र तौल परमिटको खोजी हुनुपर्छ,’ उहाँको भनाइ थियो ।

डा.कार्कीले आफूहरु नयाँ राजनीतिक दल भएकाले काम गर्न धेरै चुनौतीहरुको सामना गरिरहेको बताउँदै नयाँ अभियानको रुपमा काम गर्ने सोचमा रहेको बताउनुभयो ।

‘नयाँ दल भएकाले संगठन संरचना छैन । स्रोत छैन, विगतमा निर्वाचन क्षेत्र बिकास कोषबाट वर्षेनी पाँच करोड करोड छुट्याइन्थो । हामीले नै हटाउनुपर्छ भनेर आवाज उठायौँ, सांसदहरुलाई ठेकेदार बनाउनुहुन्न भनेर कुरा अघि बढाउँदा आम नागरिकले अझै बुझ्नुभएको छैन । म यहाँबाट बुझाउन चाहन्छु, संघीय सांसदको हकमा उसले आफ्नै योजनाहरु ल्याएर आफ्नो क्षेत्रमा खर्च गर्न पाउनेगरी संघका मन्त्रालयहरुसँग समन्वय गर्ने, महानगर, नगर, वडाहरुसँग समन्वय गरेर योजनाहरु ल्याउन प्राथमिकतामा राख्नुपर्छ,’ उहाँले भन्नुभयो ।

डा.कार्कीले उपल्लो निकायसम्म दलीयकरण हुने, कार्यकर्ता भर्ति गर्ने क्रम चलिरहेकाले लोकतन्त्रमा प्रत्येक नागरिक सरकारको प्रतिपक्षका रुपमा काम गर्नुपर्ने औँल्याउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...