काठमाडौँ, १ फागुन । बुधबार बबरमहलमा मेलम्ची खानेपानीको थोक वितरण प्रणालीको पाइप फुटेर जनधनको क्षति भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.तोसिमा कार्कीले आपत्ति प्रकट गर्नुभएको छ ।
सांसद कार्कीले मेलम्ची खानेपानी आयोजनाको नाममा वर्षौँदेखि आम जनतालाई ठग्ने काम भइरहेको भन्दै आपत्ति जनाउनुभएको हो ।
नेपाल न्यूज बैंकसँगको कुराकानीमा उहाँले बुधबार बबरमहलमा मेलम्ची खानेपानीको पाइप फुटेर बाढी नै आएको प्रसंगलाई जोड्दै गुणस्तरहीन काम गर्दाको नजिताका रुपमा पाइप फुटेको बताउनुभयो ।
‘मेलम्ची खानेपानी आयोजना भनेर वर्षौँदेखि आज जनतालाई झुक्याइएको अवस्था छ । अर्बौँ खर्च भइसकेको छ । अझै प्रोजेक्ट पूर्ण हुनलाई त्यहाँ अर्बौँ लाग्छ रे । यहीँ एउटा मेलम्ची देखाएर जनतालाई काकाकुल बनाए झुक्याएर ठगेर बसेको अवस्था छ,’ उहाँले अगाडि भन्नुभयो,‘निर्माण सम्पन्न भइसकेको भनिएको पाइप विस्तारको काममा पनि फुटेर सडक नै भत्किएर बाढी जाने अवस्था आइसकेको छ ।जिम्मेवार निकायहरु थप जिम्मेवार हुनुपर्यो, त्यसमा गृहकार्य गर्नुपर्यो । यसमा गुणस्तरको काम नै भएन, के कत्तिको पानी फ्लो त्यसले थाम्न सक्छ, यस्तो कुरामा राम्रो अध्ययन हुनुपर्छ ।’
पाइप फुटेपछि पानी बगेर बबरमहल क्षेत्र जलमग्न भएको थियो । बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको पाइप फुटेपछि पानी जमेर जलमग्न भएको र विषेश अदालतसहितका सरकारी कार्यालयमा पानी पसेर क्षति गरेको थियो । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले सरसफाइइसँगै मर्मत सुरु गरिसकेको छ ।