विधेयक निर्माणको सन्दर्भमा बहुमतको मान्यता हुँदैन : प्रमुख सचेतक बर्तौला

39

काठमाडौँ, ३० माघ । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले विधेयक निर्माणको सन्दर्भमा बहुमतको मान्यता नहुने बताउनुभएको छ ।

बुधबार राससको ६४औँ वार्षिकोत्सवको अवसरमा ‘संसद्को प्रभावकारी रिपोर्टिङका सन्दर्भमा राससको भूमिका’ बारे छलफल कार्यक्रममा उहाँले अधिकतम सहमतिकासाथ गुणस्तरीय काम गर्ने सन्दर्भमा सबैको सुझावलाई लिएर त्यस आधारमा कानुन बनाउने काममा लागेको भन्दै विधेयक निर्माणमा बहुमतको मान्यता नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘विधेयक निर्माणको सन्दर्भमा बहुमतको मान्यता हुँदैन । अधिकतम सहमतिका साथ गुणस्तरीय काम गर्ने सन्दर्भमा सबैको सुझावलाई लिएर त्यस आधारमा कानुन बनाउने काममा लागि रहेका छौँ । त्यस हिसाबले अबको यो अधिवेशनलाई पनि रचनात्मक तरिकाले बढीभन्दा बढी जनताका आवाज मुखरित हुने सरकारको कानमा पुर्‍याउने, संसद्लाई जनताप्रति जवाफदेही बनाएर संसद्लाई बलियो बनाउने कोसिस गरिरहेका छौँ ।’

यसको साथै उहाँले विधेयक र कानुन निर्माणका सन्दर्भमा सत्तापक्ष र प्रतिपक्ष एक ठाउँमा उभिएर काम गर्ने भन्दै विपक्षमा रहेका साथीहरुलाई यहीँ अपिल गरिरहेको बताउनुयो ।

उहाँले भन्नुभयो, ‘विधेयक र कानुन निर्माणका सन्दर्भमा सत्ता पक्ष र प्रतिपक्ष एक ठाउँमा उभिएर समान धारणाका साथ संसद्लाई राष्ट्रिय नीतिहरुको उपयुक्त बहस गर्ने सिर्जनात्मक, रचनात्मक बहस गर्ने थलोको रुपमा लैजानपर्छ हाम्रो चाहाना पनि यहीँ हो । हामीले विपक्षमा रहेका साथीहरुलाई पनि यहीँ अपिल गरिरहेका हुन्छौँ ।’

राससले राज्यकै एउटा मुखपत्रको रुपमा आम जनताको भावना बुझेर, सूचनाको हकलाई कार्यान्वयन गर्ने तहमा पुर्‍याउने गरी योगदान गर्दै आएको भन्दै सरकारको तर्फबाट केही पहल गर्नुपर्ने आवश्यकता भए सहकार्य गर्न तयार रहेको पनि उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘राससले राज्यकै एउटा मुखपत्रको रुपमा आम जनताको भावना बुझेर, सूचनाको हकलाई कार्यान्वयन गर्ने तहमा पुर्‍याउने गरी योगदान गर्दै आएको छ । राससले सिंहदरबार र बालुवाटारको मात्र समाचार सम्प्रेषण गर्दैन, यसले सबै जनताको समस्या र विषय उठाउने काम गर्छ । पछिल्लो समय असत्य समाचारहरु सम्प्रेषण हुने खतरा बढिरहेको छ । सरकारको तर्फबाट केही पहल गर्नुपर्ने आवश्यकता भयो भने हामी सहकार्य गरेर सँगै काम गर्न तयार छौँ ।’

सोही क्रममा नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले पनि हरेक दलमा एउटा कार्यक्रम नै बनाएर अन्तरक्रिया गर्ने सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो, ‘रिपोर्टिङ गर्दा राससले सरकारतर्फ मात्र हेर्छ कि भन्ने एउटा विषयवस्तु छ यसलाई चिर्नका लागि हरेक दलमा एउटा कार्यक्रम नै बनाएर अन्तरक्रियाको कार्यक्रम पनि राख्नका लागि सुझाव दिन चहान्छु । जसले तपाईहरुको रिपोर्टिङ राम्रो हुन्छ ।’

यसको साथै उहाँले राससले ७५३ वटा स्थानीय तह र ७ वटा प्रदेश सरकारसँग जोडिएर त्यहाँका कुरा ल्याउने हो भने संसद् प्रभावकारी बनाउन ठुलो मद्धत हुने पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘दोस्रो सुझाव के छ भने हामी जनप्रतिनिधि हो, हामीले तलका आवाजलाई बुलन्द गर्ने हो । अहिले हामी संघीयतामा छौँ । संघीयता भएको कारणले संघमा मात्र होइन, ७५३ वटा स्थानिय तह र ७ वटा प्रदेश सरकारसँग कसरी जोड्न सकिन्छ त्यसमा ध्यान दिनुपर्छ । तपाईले यी सरकारहरुको कुरा ल्याउने हो भने संसद् प्रभावकारी बनाउन ठुलो मद्धत हुन्छ ।’

Share This:
सम्बन्धित खबर
Loading...