- संगीता सुबेदी
साहित्य प्रेमीहरुलाई मनपर्ने बसन्त ऋतु भित्रने तरखरमा छ । साहित्यले माया, प्रेम, स्नेह, यर्थात र जिन्दगीका सुखदुःख र गुम्सिएका भावानाहरुको उज्जागर गर्छ । त्यसकारण साहित्य जीवनको अभिन्न अंग हो । जसले जिन्दगीमा रस भर्छ । निराशा र कुन्ठाहरु कतै बिर्सजन गरेर लयबद्ध जीवन जिउन सघाउँछ । जीवनमा दुःखमा पनि सुख खोज्न साहित्यले नै भूमिका खेल्छ । हो, यही अमर विद्याका एक होनाहार सर्जक हुन् युगकवि सिद्धिचरण श्रेष्ठ । उनका कालजयी सिर्जना र साहित्य आज पनि अमर छन् । उनका सिर्जनाहरु कति गीत बनेर गुञ्जिरहेका छन् कति कविता बनेर गुञ्जिरहेका छन् त कति कथा बनेर । ती अमर, अजर छन् ।
तिनै महान सर्जकका कविता र सिर्जनाहरुमाथि गहन समीक्षा गर्दै जन्मिएको साहित्यकार स्वयम्भू शाक्यको ‘क्रान्तिका अग्रदुत युगकवि सिद्धिचरण’ पुस्तक नेपाली साहित्यको अमूल्य सामाग्री हो ।
युगकवि सिद्धिचरणले बाँचेको त्यो इतिहास र त्यो बेलाको समय र साहित्य बुझ्न उक्त पुस्तक अत्यन्त महत्त्वपूर्ण छ । कविताहरुमार्फत् युगकविले त्यो युगमा कसरी आफना भावानाहरु बुलन्द गरे ? समयका आवाजहरु कसरी गुज्रिए ? भन्ने कुरा पुस्तकमा पढन र महसुस गर्न सकिन्छ । पुस्तकका लेखक शाक्यले युगकविका कविताहरुमाथि खुब न्याय गरेका देखिन्छन् । खुब प्रेमभाव दर्शाएका देखिन्छन् । त्यसकारण यस पुस्तक युगकवि सिद्धिचरणका साहित्य रचनामाथि अध्ययन गरिएको एउटा सुन्दरतम कृति हो भन्दा अत्तियुक्ति हुनेछैन । स्वयम्भु शाक्यले युगकविको ‘नयाँ वर्ष’ शीर्षकको कवितामाथि यसरी प्रकाश पार्नुभएको छ ।
‘पात पुराना झरिरहेका देख्दैनौँ ती वृक्ष नयाँ
हरिया लहलह चिडिया चहचहल्याउन सरस बसन्त यहाँ’
शाक्य लेख्छन् ‘पातहरु पुराना हुनु समयले पातहरु गलाउनु हो । पुराना वृक्षमा नयाँ पातहरु हुनेछन् । पुराना वृक्षमा बसन्तको आगमनसँगै नयाँ पातहरु पलाउने छन् । हेर्दै लोभलाग्दोे हरियो भएर हावाका झोक्काहरुसँगै पातहरु पनि मस्त भएर आफ्नै धुनहरुमा गीतहरु गाउनेछन् । पुस्तकमा लेखक शाक्यले युगकविका कविताहरुमा सुन्दर एवम् सकारात्मक दृष्टिकोण राख्नुभएको छ । युगकविकै लयलाई पछ्याउँदै प्रकृति र जीवनका यर्थातहरुको बयान गर्नुभएको छ ।
वास्तवमा युगकविका रचनाहरु आजपनि उत्तिकै यर्थातपरक छन् । जीवन र जगतको यर्थाथलाई कवितामार्फत् पस्कने कविले कविता मात्रै लेखेका छैनन् झणभरङ्ग निराशाहरुमा पनि डुबिरहने मानव जगतलाई बाँच्ने तरिका र अभिलाषाहरु सिकाएका छन् । युगकविले स्वार्थी हुँदै गएका मानिसहरु प्रति व्यङ्ग्य गर्दै ‘मानिस छैनन्’ कविता पस्केका छन् ।
सुन, म भन्छु त्यहाँ मानिस नै छैन, छैन, छैन ।
तिमी भनौला ती रङ्गीचङ्गी लुगालाई
नक्कल, झक्कल गर्दै झ्यालमा देखा पर्ने को हुन् ?
म भन्छु तिनीहरु त पुतली हुन् पुतली
पुतलीहरुले पनि कहीँ तिमीहरुको क्रन्दन सुन्छ ?
शाक्यले पुस्तकमा आफना भावपंक्ति यसरी कोरेका छन् ‘के रहस्य होला, मान्छे विवेक भएर पनि किन आफ्नो बाटोमा हिँडन नसकेको होला ? अनौठो लाग्छ, यो अनौठो संसारभित्र अनौठो तरिकाबाटै हाम्रो जीवन लिला समाप्त हुनेछ । यो छोटो जीवनमा बुझ्दा बुझ्दै बुझ्न नपाउँदै मान्छेहरु त्यसै सुत्नेछन् । हामी त बाँचेर पनि केहि गर्न नसक्ने जिउँदो मुर्दा हुनेछौँ ।’
यस्ता कयन कविताहरुमाथि लेखकले जीवनको यर्थातको धरातलमा उभिएर समीक्षा गर्नुभएको छ । जसले युगकविका कविताको ओझ बढाएको छ । कविताको भावनाहरु प्रकाश पारेको छ । कविता पढ्नलाई अझै प्रेरित गरेको छ । यति हुदा हुँदै लेखक शाक्य कतिपय ठाउँमा दोहोरिएका छन् । कतिपय कवितामाथि बढ्तै भावनामा डुबेका छन् र समीक्षा लम्बेतान भएको छ । तर, पनि यस पुस्तकले युगकविका रचनाहरुलाई असाध्यै न्याय गरेको छ ।
यस पुस्तकमा युगकवि सिद्धिचरण प्रतिष्ठानका अध्यक्ष बैरागी काँइलाले मन्तब्य जाहेर गर्नुभएको छ । पुस्तकको ऐतिहासिक महत्त्वबारे युगकवि सिद्धिचरणको सिर्जनाका अध्येता डा.फणिन्द्रराज निरौलाले प्रकास पार्नुभएको छ । त्यसैगरी, युगकवि सिद्धिचरण प्रतिष्ठानका संरक्षक रविचरण श्रेष्ठले पुस्तकमाथि टिप्पणी गर्दै भन्नुभएको छ, ‘युगकवि सिद्धिचरणका कविता र खण्डकाब्यहरुको विषयमा चिन्तन र विवेचना गरी प्रकाशनमा आएको पुस्तक एक महत्त्वपूर्ण दस्ताबेज भएको छ ।’
लेखक शाक्यले यस पुस्तकमा ६५ वटा फुटकर कविता, युगकविको जेल संस्मरण, मंगलमान, जुनकिरी र भीमशेन थापा शीर्षकको खण्डकाब्यका बारेमा अध्ययन गरी लेखिएको पुस्तक ५४० पेजको रहेको छ । पुस्तक स्वदेश प्रकाशनले बजारमा ल्याएको छ ।