सोरु गाउँपालिकाका स्थानीयबासी जोखिम मोलेर पुल तर्न बाध्य

12

मुगु, २५ माघ । सोरु गाउँपालिकाको कुलाहास्थित झोलुंगे पुल जीर्ण भएपछि स्थानीय जोखिम मोलेर पुल तर्न बाध्य छन् । पुल जीर्ण हुँदा कालै, खनाया, जिमा, पुरुमुरुलगायत दर्जनौँभन्दा बढी गाउँका नागरिकलाई वारिपारि गर्न मुस्किल भएको छ ।

मुगुको कुलाहास्थित मुगु कर्णाली नदीको जीर्ण झोलुंगे पुल लामो समयदेखि जीर्ण बन्दा स्थानीयलाई ज्यानकै बाजी थापेर पुल तर्नुपर्ने बाध्यता छ ।

खनाया गाउँका जनकबहादुर शाहीले पुल जीर्ण भएको झन्डै एक दशक बिते पनि मर्मतमा बेवास्ता भइरहेको बताउनुभयो । उहाँका अनुसार पुलमा बिछ्याइएका पाताहरू सबै उप्किएका छन् भने वरपरको तार जाली खियाले चुडिएको छ ।

उहाँले भन्नुभयो, ‘टाढाबाटै हेर्दा पुल डरलाग्दो छ, एक जनाभन्दा बढीले पुल तर्न सकिँदैन, हिँडाइको सन्तुलन नमिले कुन बेला नदीमा खसिने हो थाहै हुँदैन ।’

छेदविच्छेद भएको उक्त पुलमा पशुचौपायालाई पनि वारपार गराउनुपर्ने भएकाले थप जोखिम भएको उहाँले बताउनुभयो । उहाँका अनुसार हिँउद लागे पनि कर्णाली नदीको बहाब नघटेकाले अहिले पनि नदी तर्न नसकिने बताउनुभयो ।

स्थानीय सोरु गाउँपालिकाको केन्द्र पुग्न यसै पुलमार्फत् आउजाउ गर्ने गरिन्छ । योजना सम्झौता गर्न, बजेट माग गर्न, सामाजिक सुरक्षा भत्ता बुझ्न, बैंकमा खाता खोल्न र सरकारी सेवा लिन जोखिमपूर्ण पुल तर्नुपर्ने बाध्यता भएको स्थानीय हर्कबहादुर शाहीले बताउनुभयो ।

उहाँका अनुसार बालबालिका र ज्येष्ठ नागरिक भने पुल तर्न डराउँदा उनीहरूले लामो समयदेखि गाउँ छोड्न सकेका छैनन् । प्रदेश सरकारदेखि स्थानीय तहसम्मको ध्यानाकर्षण गराए पनि पुल निर्माणमा कसैको चासो नगएको उहाँको गुनासो छ ।

‘दैनिक उपभोग्य सामग्री ढुवानी गर्न पनि समस्या भइसक्यो, सोरुकोट बजार जान पनि यो पुल तर्नुको विकल्प छैन,’ उहाँले भन्नुभयो, ‘पुल जीर्ण हुँदा स्थानीय उत्पादन पनि बजारसम्म पुर्‍याउन सकिएको छैन ।’

कुलाहा पुल धेरै पुरानो र जीर्ण भएको हुँदा बजेट छुट्याएर पुल मर्मत गर्ने योजना भइरहेको सोरु गाउँपालिका अध्यक्ष धर्मबहादुर शाहीले बताउनुभयो । शाहीका अनुसार पालिकाभरि कति पुल जीर्ण भएका छन् र ती पुल मर्मत गर्न कति बजेट आवश्यक पर्छ भन्ने बारे तथ्यांक संकलन गरी जीर्ण पुलहरुको मर्मत तथा निमार्ण गर्नका लागि संघीय सरकार, प्रदेश सरकारसंग बजेटको लागि पहल गरिने समेत बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...