अवैध उत्खनन् रोक्न मुख्यमन्त्री सिंह मध्यरातमै पुगे नदीमा, दोहन गर्नेहरू भागाभाग

25

जनकपुर, २४ माघ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले कमला खोलाबाट जथाभाबी नदीजन्य पदार्थ उत्खनन् गरी चोरी निकासी भइरहेको धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ स्थित पोर्ताहा क्षेत्रमा बुधबार मध्यरातमा अनुगमन गर्नुभएको छ ।

नदीजन्य पदार्थको अवैध तथा अनाधिकृत दोहनले पारिस्थितिकीय प्रणाली र जैविक विविधतामा प्रतिकूल असर परिरहेको, मधेशको उर्वर भूमि मरुभूमिमा परिणत भइरहेको र सरकारलाई प्राप्त हुनुपर्ने राजस्व गुमिरहेको चिन्ताका बीच प्रदेश सरकार प्रमुख तहबाट त्यसविरुद्ध छड्के अनुगमन गर्न उहाँ त्यहाँ पुग्नुभएको हो ।

राष्ट्रिय वनक्षेत्र र सामुदायिक वन क्षेत्रमा रहेका खोलाबाट अवैध तथा अनुचित तवरमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् भइरहेको तथा अन्य ठाउँमा अनाधिकृत रूपले नदीजन्य पदार्थको दोहन भइरहेको खबर प्राप्त भएपछि मुख्यमन्त्री सिंह जिल्लाका सुरक्षा अधिकारीहरूसहित बुधबार राति १२ बजेदेखि ३ बजेसम्म त्यस क्षेत्रमा छापामार शैलीमा प्रस्तुत हुनुभएको थियो ।

धनुषा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक बरुण सिंहले मुख्यमन्त्री सिंहको अगुवाइमा भएको छापामार शैलीको अनुगमनका क्रममा नदीजन्य पदार्थ ओसारपसार गरिरहेका १३ ट्याक्टर, दुईवटा बकेट र पाँच जना चालकलाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो ।

मुख्यमन्त्री सिंहसहितको टोली पूर्वपश्चिम राजमार्गको उत्तरतर्फ वनक्षेत्रभित्रको खोलामा मध्यरात पुग्दा दोहन गरिरहेका स्काइभेटर, ट्याक्टर र बकेट तथा त्यसमा संलग्न व्यक्तिहरू अँध्यारोको लाभ उठाइ ठाउँठाउँमा बनाइएका बाटा हुँदै फरार भएका थिए । यद्यपि, खोलाको उत्खनन् स्थलबाट दक्षिणतर्फ आउँदै गरेका ट्याकटर, बकेट र चालक नियन्त्रणमा परेका हुन् ।

मुख्यमन्त्री सिंहले विधि, प्रक्रिया र मापदण्डविपरीत प्राकृतिक स्रोतको उत्खनन् तथा जथाभाबी दोहनबाट राज्यको सम्पत्ति हानीनोक्सानी भएको तथा विपद् निम्तिदै आएकाले त्यसविरुद्ध आफूले अनुगमन गरेको बताउनुभयो ।

उहाँले राजमार्गभन्दा उत्तर र दक्षिणपट्टि कमला खोलालगायत अन्य नदीबाट अनाधिकृत ढङ्गले ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् भइरहेको गुनासा आएपछि मध्यरातमा अनुगमन गरेको प्रस्ट्याउनुभयो ।

राष्ट्रिय वनक्षेत्र र सामुदायिक वनक्षेत्रस्थित खोला तथा टेन्डर नलागेका खोलाबाट राति १० बजेदेखि बिहान ४ बजेसम्म ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् हुने गरेको जानकारी मुख्यमन्त्री सिंहलाई प्राप्त भएको थियो ।

डिभिजन वन कार्यालय धनुषासँग सशस्त्र जनशक्ति अभाव, प्रहरी सुरक्षाकर्मीहरूको सहयोगमा कमी आदि कारणले ठुलो स्तरमा नियन्त्रणात्मक अभियान सञ्चालन नहुँदा स्काभेटर, बकेट आदि उपकरण प्रयोग गरी सयौँको सँख्यामा ट्याक्टरबाट नदीजन्य पदार्थको अवैध ओसारपसार हुने गरेको बताइएको छ ।

मुख्यमन्त्रीको अनुगमन टोलीमा सम्मिलित धनुषाका प्रहरी प्रमुख एवम् उपरीक्षक भुवनेश्वर तिवारीले प्राकृतिक साधनस्रोतको अनाधिकृत दोहन गरेर गलत तरिकाले पैसा कमाउने प्रवृत्ति बढेको भन्दै यसविरुद्ध कडाइका साथ प्रहरी परिचालन हुने बताउनुभयो ।

उहाँले यस विषयमा आफूसमेत सदस्य रहेको जिल्ला अनुगमन समितिको बैठक बस्ने र अवैध तथा अनाधिकृत दोहन रोक्न आवश्यक थप कदम चालिने उल्लेख गर्नुभयो ।

यसअघि डिभिजन वन कार्यालय धनुषाले गणेशमान नगरपालिका वडा नम्बर ७ पोर्ताहास्थित कमलामाई क्रसर उद्योग लगायतका स्थानीय क्रसर उद्योगीद्वारा पचासौँ ट्याक्टर परिचालन गरी रातबिरातको समयमा खोलाबाट जथाभाबी नदीजन्य पदार्थ दोहन गरिरहेको जनगुनासोपछि कानुनअनुसार मात्र नदीजन्य पदार्थ उत्खनन् व्यवस्थापन गराउन जिल्ला समन्वय समिति धनुषालाई आग्रह गरेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...