काठमाडौँ, २३ माघ । नेपालका चर्चित नायक दयाहाङ राईले आउँदै गरेको फिल्म ‘दुःखी आत्मा’ आफ्नो पात्रको भूमिका चुनौतीपूर्ण भएको बताउनुभएको छ ।
बुधबार काठमाडौँमा फिल्म प्रमोशन गर्नुहुँदै उहाँले अनुभव पनि गर्न नपाएको पात्रको भूमिका निभाउनु पर्दा आफ्नो लागि थप चुनौतीपूर्ण बनेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘मैले अनुभव पनि गर्न नपाएको पात्रको भूमिका कसरी निभाउने भन्ने कुरा नै मेरो चुनौती थियो । यो एडल्ट भन्नेबित्तिकै अर्कै विषयको फिल्म होकी भन्ने खालको सोच आउँछ, यसमा पहिलो चुनौती भनेको मैले यो पात्रलाई न्याय दिन सक्दिनँ जस्तो लागेकै हो । आजको दिनसम्म हेर्दा पनि मैले जति गरे त्यो पर्याप्त भयो जस्तो लागेको छैन ।’
यौन स्वास्थ्यसम्बन्धी विषयवस्तु खुला रुपमा बहसमा नआउने हुँदा फिल्मले उक्त सन्देश दिन खोजेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘यो बारे बहस हुन जरुरी छ, हामीले मानसिक, शारीरिक स्वास्थ्यको विषयमा कुरा गर्न थालेका छौँ तर यौन स्वास्थ्यको विषयमा हामी खुला भएर कुरा गर्न सकेका छैनौँ । तर, यसबारेमा चर्चा कति को हुनु पर्छ भन्न सक्दिन तर हुन जरुरी छ । बाहिर कुरा नगरे पनि परिवार, श्रीमान् श्रीमतीबीच भए राम्रो हुन्छ ।’
यसको साथै उहाँले फिल्ममा भएको समस्या संसारभर ७० प्रतिशत मान्छेको समस्या रहेछ भन्दै यो गम्भीर विषय भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘फिल्ममा भएको समस्या संसारभर ७० प्रतिशत मान्छेको समस्या रहेछ नी भनेपछि त यो गम्भीर विषय रहेछ त, तर यसो हेर्दा त सबै मान्छे सामान्य नै देखिन्छन् त । फिल्ममा भएको वस्तु मानिसको चासोको विषय त हो तर सहज रुपमा लिनु हुँदैन । यो स्वभाविक कुरा हो । चासो त छ तर खुलेर कोही पनि कुरा गर्न मान्दैन । फिल्ममा अप्ठयारो मान्नु पर्ने दृश्य केही छैन ।’
यस्तै, नायिका आँचल शर्माले टिजरमा जति देखाइएको छ पूरै फिल्ममा त्यति नै रहेको भन्दै ओहो हेर्नै नहुने भन्ने खालको भने नभएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले जति टेलर र टिजरमा देखाएका छौँ त्यति नै हो खास कुरा, ओहो हेर्नै नहुने भन्ने खालको छैन । सबै परिवार हेर्न पनि गारो हुने, अप्ठयारो हुने भन्ने खालको विषयवस्तु भने छैन । तर, जुन विषय उठाएका छौँ त्यसले अलिकति अप्ठयारो हुन्छ की भन्ने मात्र हो । यो पुरुषसँग सम्बन्धित कुरा भएको हुनाले मेरो लागि नयाँ विषय हो ।’
दयाहाङ राई, आँचल शर्मा, अनुपविक्रम शाहीको शीर्ष भूमिका रहेको फिल्म ‘दुःखी आत्मा’ भ्यालेन्टाइन्स डेको अवसरमा २ फागुन ‘१४ फेब्रुअरी’ मा प्रदर्शनमा आउँदै छ ।
दीपेन्द्र लामाले निर्देशन गरेको फिल्ममा बुद्धि तामाङ, पुस्कर गुरुङ, कविता आले, शिशिर वाङ्देल, आशान्त शर्मा, लोकेन्द्र लेखक, अंकित खड्का, लुनिभा तुलाधर, आरती आचार्य, निमा पाण्डे, रेअर राई, यासेली योङहाङ लगायतले पनि अभिनय गर्नुभएको छ ।