एनआरएनलाई भिसा दिने प्रावधान गलत : सांसद गिरी

0

काठमाडौँ, १० माघ । नेपाली कांग्रेसका सांसद दीपक गिरीले गैरआवासीय नेपाली संघ (एनआरएन)लाई निःशुल्क भिसा दिने प्रावधान गलत रहेको भन्दै सरकारले त्यसलाई सच्याउनुपर्ने जनाउनुभएको छ ।

राजधानीमा सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस केन्द्रीय सदस्य पनि रहनुभएका गिरीले नेपालको संविधानले नै एनआरएन नागरिकता सुनिश्चित गरिसकेपछि एनआरएनहरुलाई आफ्नै मातृभूमि आउँदा भिसा लगाउनुपर्ने प्रावधान संविधानको मर्मविपरीत रहेको बताउनुभयो । उहाँले त्यस्तो प्रावधान संशोधन गर्नुपर्ने पनि जनाउनुभयो ।

संसारभर रहेका एनआरएनए नेताहरुले सरकारद्वारा हालै जारी अध्यादेशमा गैरआवासीय संघले नेपाली नागरिकता लिइसकेका एनआरएनहरुलाई दस वर्ष निःशुल्क भिसा दिने प्रावधानको विरोध गरिरहेका छन् ।

एक प्रश्नको जवाफमा पूर्वमन्त्री गिरीले सरकारको काम सुस्त रहेको बताउनुभयो । यद्यपि, उहाँले सरकारलाई काम गर्न दिनुपर्ने जनाउँदै पटक पटक सरकार बदल्दा देशमा राजनीतिक अस्थिरता हुने पनि जनाउनुभयो ।

उहाँले रवि लामिछानेको बारेमा अदालतमा मुद्दा विचाराधीन रहेकाले थप टिप्पणी गर्न नचाहेको बताउनुभयो । ‘सबै सहकारी पीडितहरुले न्याय पाउनुपर्छ । उनीहरुले आफूले बचत गरेको रकम फिर्ता पाउनुपर्छ । यसमा सरकारले खुट्टा कमाउनु हुँदैन । जुनसुकै पार्टीको भए पनि छुट पाउनु हुँदैन,’ गिरीले भन्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...