काठमाडौँ, १० माघ । महानगर यातायात प्रालिले टाटाका थप ४० वटा बसहरु सञ्चालनमा ल्याएको छ ।
बिहीबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी बिहीबारदेखि टाटाका थप ४० वटा बसहरु सञ्चालनमा ल्याइएको प्रालिका उपाध्यक्ष सन्तोष खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार नयाँ बस थपिएसँगै बसहरुको संख्या ८९ पुगेको छ ।
उहाँले भन्नुभयो,‘हाल काठमाडौँको चक्रपथमा यात्रुहरुलाई सेवा दिँदै आएको महानगर यातायातले टाटाका थप ४० वटा बसहरु आजैदेखि सचालनमा ल्याउँदै छ । नयाँ बस थपिएसँगै हाम्रा बसहरुको संख्या ८९ पुगेको छ । सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठज्यूको हातबाट ती बसहरुको चावी लिँदै गर्दा थप जिम्मेवारीको महसुस गरेका छौँ ।’
नयाँ बसहरु सञ्चालनमा आएसँगै महानगर यातायातले चक्रपथ बाहेकका अन्य गन्तव्य र रुटहरुमा पनि सेवा विस्तार गर्ने भएको छ । आजैदेखि महानगर यातायातले काठमाडौँको चन्द्रागिरी, गोदाम र थानकोटदेखि काभ्रेको बनेपा हुँदै धुलीखेलसम्मका रुटमा यात्रुहरुलाई सेवा प्रदान गर्न सुरु गर्ने छ ।