- दान बहादुर बुढा
मुगु, ८ माघ । चर्चित पर्यटकीयस्थल रारामा पर्यटकको चहलपहल बढेको छ । समुन्द्री सतहदेखि २९ सय मिटरको रहेको रारा क्षेत्रमा हिउँ परेपछि हिउँ खेल्नेहरुको भीड बढेको हो ।
दिनको तीन पटक आफ्नो रङ फेरिरहने नेपालको ठुलो अनि सुन्दर महेन्द्र अर्थात् रारा ताल किनारमा सेताम्मे हिमपातले पर्यटकलाई लोभ्याएको छ ।
हिउँदे चिसोको समयमा सुनसान हुने रारामा माघ महिनाको पहिलो सातामा परेको हिमपातपछि मौसममा सुधार आएपछि पर्यटकहरु झुम्किएका हुन् । खुला आकाश, निलो रंगमा टल्किरहेको रारा अनि आसपास दुई फिटभन्दा बढी हिउँ जमेकाले पर्यटकलाई रोमाञ्चक बनाएको छ । तालको विभिन्न कोणबाट देखिने हिमालका दृश्य अवलोकनसँगै भिडिओ, फोटो खिच्न, टिकटक बनाउन र नाचगान गर्न पर्यटकहरु रारा उक्लिने गरेका छन् ।
‘फिल्म, युट्युबमा सेताम्मे डाँडाकाँडा, हिउँ भएको रारामा भिडिओ वा फोटाहरुमा हेरेको थिएँ । जीवनमा पहिलोपटक रारा ताल देख्न पाइयो । साथीहरुसँग रमाउन पाउँदा स्वर्गीय आनन्द भइरहेको छ,’ पर्यटक विक्रम यादवले भन्नुभयो । उहाँले एक हप्तासम्म रारा घुम्नका लागि प्याकेज, सोहीअनुसारको संरचनाको विकास गर्न सके स्थानीयले राम्रो आम्दानी लिनसक्ने उहाँको बुझाइछ ।
चिसोको कारण रारा घुम्ने सिजन नभए पनि हिजोआज हिउँ परेर, आकाश खुला हुँदा पर्यटकहरुको भीड बढेको हो । तर, आएका पाउनाहरु रारामा नबसी फर्कने गरेकाले होटल व्यवसायहरु घाटामा रहेको होटल व्यवसायी कुल बहादुर रोकायाले बताउनुभयो ।
छायाँनाथ रारा नगरपालिका–८ मा रहेको रारा १ सय ८ वर्ग किलोमिटरमा क्षेत्रफलमा फैलिएको छ । तालको अधिकतम लम्बाइ किलोमिटर र चौडाई ३.२ किलोमिटर गहिरो १६७ मिटर रहेको छ ।
रारा राष्ट्रिय निकुञ्जको १०६ वर्ग किलोमिटर रहेको क्षेत्रफलले राराको सौन्दर्यतालाई जोगाइ राखेको छ । हिउँमा रमाउनको लागि सदरमुकाम गमगढी बजार, मुर्मा, तुम, झ्यारी, टोप्ला, पिना, सोरु, खत्याडमा रहेका दर्जनै स्थानबाट आन्तरिक पर्यटक रारा पुगिरहेका छन् । छिमेकी जिल्ला जुम्ला, दाङ, दैलेख, सुनसरीबाट दैनिक ५०–६० जना आन्तरिक पर्यटकहरु रारा पुगिरहेका छन् ।
हिउँ खेल्न धेरै आन्तरिक पर्यटकहरु आउर्ने गरेका छन् । ६ महिलामा घुम्न आउने आन्तरिक तथा बाह्य गरी ५७ सय पर्यटकले रारा घुमेका छन् भने १३० जना जना पर्यटक रारा पुगेका छन् । उक्त अवधिमा १७ लाख ८० हजार राजश्व संकलन भएको रारा राष्ट्रिय निकुन्ज कार्यालयका सूचना अधिकारी धर्मजित सावतले बताउनुभयो ।
तालको चारैतिर रहेका छाँयानाथ, चंखेली, मुर्माटप, चुचेमारा, हिमालमा रहेको सेताम्मे हिमालका दृश्यसँगै तालको किनारमा रहेका धुपी, सल्लाका झाडीमा हिउँ सेताम्मे कपास फुलेको जस्तो देखिँदा यहाँको सौन्दर्यता बढेको छ ।
नेपाल न्यूज बैंक