तनहुँ, ८ माघ । तनहुँमा आज (सोमबार) एकाबिहानै मोटरसाइकल दुर्घटना हुँदा आमा–छोराको मृत्यु भएको छ ।
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ बेलभन्ज्याङमा गण्डकी प्रदेश०३–००१प०३१० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा आमा–छोराको मृत्यु भएको हो ।
दमौलीबाट डुम्रेतर्फ जॉदै गरेको उक्त मोटरसाइकल आज बिहान अनियन्त्रित भइ सडकबाट खसेर दुर्घटनाग्रस्त भएको प्रहरीले जानकारी दिएको छ ।
उक्त दुर्घटनामा परेर तनहुँको ऋषिङ गाउँपालिका–६ चालिसे घर भइ हाल व्यास नगरपालिका–५ पाटन बस्ने १९ वर्षीय सन्दीप आले र ४० वर्षीया मधुमाया आलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो ।
अत्यधिक बाक्लो हुस्सु लागेको र सोही कारण बाटो नदेख्दा मोटरसाइकल दुर्घटनामा परेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।