रौतहट, २ माघ । रौतहट प्रहरीले विभिन्न मुद्दामा फरार रहेका ४० जना प्रतिवादीहरूलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएको प्रहरी टोलिले विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।
अदालतको फैसला कार्यन्वयनअन्तर्गत कैद तथा जरिवाना तोकिएका व्यक्तिहरूलाई खोजी गरी कारबाही अघि बढाइएको रौतहट प्रहरी निरीक्षक उमाशंकर प्रसादले बताउनुभयो ।
उहाँका अनुसार पक्राउ परेका प्रतिवादीहरूमध्ये कतिपयले कर्तव्य ज्यान, डाँका चोरी, कुटपिट, गाली बेइज्जती, किर्ते जालसाजी,अपराधिक जस्ता अपराध गरेका छन् ।
कर्तव्य ज्यानमा ४, डाँका चोरीमा १, कुटपिट मुद्दामा ४, गाली गलौज मुद्दामा १, गाली बेइज्जतीमा ९, कुटपिटमा ८ , किर्ते जालसाजीमा ६, बिगो १, नकबजनी चोरी १ र अपराधिक उपद्रय ३ जना पक्राउ परेको प्रहरीले उल्लेख गरेको छ ।
पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालतमा पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
पक्राउ परेका व्यक्तिहरूमध्ये विनोद दासलाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवानासहित अदालतमा उपस्थित गराइएको छ । फरार रहेका अन्य प्रतिवादीहरूलाई पनि चाँडै पक्राउ गर्ने रौतहट प्रहरीले जानकारी दिएको छ ।