काठमाडौँ, २९ पुस । विश्व चर्चित कथावाचिका देवी प्रतिभा नेपाल आइपुग्नुभएको छ । माघ १ गतेदेखि सुरु हुन लागेको देवघाट महामहोत्सवका लागि विश्व चर्चित कथावाचिका देवी प्रतिभा नेपाल आउनुभएको हो ।
आइतबार भारतबाट हिँड्नुभएकी उहाँ १५ जनाको सदस्यसहित नेपाल आइपुगेको आयोजक कमिटीका सदस्य नारायण भण्डारीले जानकारी दिनुभयो । देवी प्रतिभाले सोमबार दिउँसो ३ बजे भरतपुर महानगरपालिका १ को ठिमुरा रिर्सोटमा प्रेस मिट आयोजना गर्न लागेको आयोजकले जनाएको छ ।
‘प्यार से बोलो ना’ थेगोमार्फत् चर्चामा पुगेकी कथावाचिका देवी प्रतिभा १० दिनसम्म नेपालमा नै बस्ने कार्यक्रम छ । यसअघि पशुपतिनाथ मन्दिरमा करिब १५ दिन कथा वाचन गरेर संसार भररहेका नेपालीहरुको मन जित्नुभएकी २३ वर्षीया उहाँ धेरैको रोजाइमा परेकी कथावाचिकाको रुपमा पर्नुहुन्छ ।
देवघाट महामहोत्सवमा देवी प्रतिभाका अलावा इश्वरकृष्ण महाराजजी, ओम प्रकाश गुरु, यशोदा कौडिन्य र अनुराधा पाण्डेयले पनि कथावाचन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
मकर स्नान माघ महामहोत्सकको अवसरमा मातापिता सेवा आश्रम र देवघाट दिव्य धामको निर्माण सहयोगार्थ लगाइने देवघाट महामहोत्सबबाट उठेको सहयोग रकम निर्माणाधीन मातापिता सेवा आश्रमका लागि खर्च गरिनेछ ।
माघ महिनाघर चल्ने मकर स्नान माघ महामहोत्सकको अवसरमा ३३ कोटी देवताको नाममा ३३ करोड दीप प्रज्वलन गर्ने कार्यक्रम पनि रहेको छ । त्यस्तै, विश्वकै नमुना मन्दिर देवघाट दिव्य धाम मन्दिरको पनि शिलान्यास गरिने आयोजक कमिटीले जनाएको छ ।