हामीले खाने बिहान बेलुकीको खाना आयात गरेर खान नपरोस् : मन्त्री अधिकारी

0

काठमाडौँ, २८ पुस । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले बिहान बेलुकीको खाना आयात गरेर खान नपरोस् भन्ने उद्देश्य मन्त्रालयले बोकेको बताउनुभएको छ ।

आइतबार काठमाडौँमा आयोजित कृषि अनुदान, रासायनिक मल एवम् धानको उत्पादन आ.व २०८१, ८२ को विवरण सार्वजनिकीकरण कार्यक्रममा उहाँले नेपालमा निर्यात गर्न सक्ने क्षमता रहेको भन्दै आयातको भरमा बाच्न नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो उद्देश्य भनेको आयात गर्न नपरोस् भन्ने हो । हामी यो मन्त्रालयमा बसिरहँदा हामीले खाने बिहान बेलुकीको खाना आयात गरेर खान नपरोस् भन्ने उद्देश्य मन्त्रालयले बोकेको छ । कति उत्पादन गर्छ होइन, कम्तिमा बाहिरबाट ल्याएर खान नपरोस् भन्ने उद्देश्य मन्त्रालयले राखेको छ । आयातको भरमा बाच्न हुँदैन निर्यात गर्न सक्ने क्षमता हामीसँग छ र त्यो राखौं भन्ने उद्देश्य हामीले राखेका छौँ।’

यसका साथै उहाँले धान, मकैजस्ता वस्तुको उत्पादन वृद्धि हुनु कृषकहरुको मेहनत भएको भन्दै यसलाई हाम्रो उपलब्धि भन्न नमिल्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कृषि कर्म गर्ने मान्छेले राम्रो तरिकाबाट कृषि कर्म गरिदिनुभयो त्यसकारण धान र मकैको उत्पादन वृद्धि भयो यो कुरा सही हो । हामीले हाम्रो कारणले वृद्धि भएको भनेर कहिले भनेका छैनौँ । यसको लागि कृषकहरुलाई नै धन्यवाद दिने हो र दिएका छौँ ।’

अनुदान लिएर कृषि कर्म नगरेकाहरुलाई कारबाही गर्नका लागि मन्त्रालयमा छलफल गरेर एउटा टिम बनाएको पनि उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘अनुदान कस्ता कस्ताले पाएका, कसले ठुलो रकम पाएका र अनुदान लिएर पनि कृषि कर्म नगरेको हुन सक्छ त्यसका लागि मन्त्रालयमा छलफल गरेर कारबाही गर्नका लागि एउटा टिम बनाएका छौँ ।’

Share This:
सम्बन्धित खबर
Loading...