नेताहरुले भने- ‘पृथ्वीनारायण शाहको उपदेशलाई पालना गरेका छौँ’

0

काठमाडौँ, २७ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले ३०३औँ पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवसको अवसरमा चियापान समारोहको आयोजना गरेको छ ।

शनिबार राप्रपा नेपालले काठमाडौँमा सबै राजनीति दलका सदस्यहरुको सहभागितामा उक्त चियापान समारोहको आयोजना गरेको हो ।

सोही क्रममा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले आजको दिन नेपाल र राष्ट्रका लागि गौरवको दिन भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘आजको दिन नेपाल र राष्ट्रका लागि गौरवको दिन हो । आधुनिक नेपालको निर्माता, नेपाललाई एकीकरण गर्ने अभियानका अभियन्ता पृथ्वीनारायण शाह हुन् । उहाँले इतिहास रच्नुभएको छ ।’

यस्तै, राप्रपाका नेता पशुपति शमशेर जबराले पृथ्वीनारायण शाह मुलुकको निर्माता भएका हुनाले उहाँलाई सधैँ सम्झनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पृथ्वीनारायण शाह राष्ट्र निर्माता हुन् । सधैँ सम्झनुपर्छ । आजको दिन सधैँ सम्झनुपर्ने र खुसीको दिन हो ।’

कार्यक्रममा नेता भीम रावलले पनि पृथ्वीनारायण शाहले दिएको उपदेशलाई आत्मसाथ गरेको बताउँदै नेपाली भएर अरुको अगाडि झुक्ने अवस्था आउन नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामी जुन जात, धर्म र क्षेत्रको भएपनि शिर उठाएर हिँड्नुपर्छ भनेर पृथ्वीनारायण शाहको उपदेशलाई आत्मसाथ गरेर हिँडेका छौँ । हामी नेपाली भएर अरुको अगाडि झुक्नु नपरोस्,’

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले पनि देशलाई एकीकरण गर्ने पृथ्वीनारायण शाहप्रति सम्मान रहेको बताउनुभयो ।

उक्त चियापान समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायत थुप्रै राजनीतिक दलका सदस्यहरुको उपस्थिति रहेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...