एमालेमा बार्गेनिङ चल्दैन : प्रधानमन्त्री ओली

0

काठमाडौँ, २५ पुस । नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले समाजवादसँग कुनै साइनो नभएकाहरुले पनि समाजवाद बेच्न आफ्ना–आफ्ना नामका पसल खोल्न खोजेको आरोप लगाउनुभएको छ ।

बिहीबार काठमाडौँमा अनेरास्ववियूले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका सन्दर्भमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले एमालेसँग कोही मिल्ने भए मर्ज गर्न आए हुन्छ भन्दै तर एमालेमा एकताका नाममा बार्गेनिङ नचल्ने बताउनुभयो ।

‘हामी आफ्नो पार्टी विस्तार गर्छौँ । कोही आउँछ भने मिल्न आउँदा हुन्छ । मर्ज गर्न आए हुन्छ । तर, एकताका नाममा बार्गेनिङ चल्दैन । नेकपा (एमाले) तिम्रा नीति अलिकति मान्छु, मेरा अलिकति मान भनेर नीतिमा बाँडफाँड गर्ने र संगठनमा योग्यता नभएका मान्छे म स्थायी कमिटी सदस्यमा आउँछु भनेर बार्गेनिङ गर्न मिल्दैन । उहीसँग वार्ता गर्नुपर्ने र पोलिटब्युरोमा बार्गेनिङ गर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ ।’

उहाँले भन्नुभयो, ‘समादवाद के हो ? अहिले समाजवादसँग कुनै साइनो नभएकाहरुले पनि समाजवाद भनेर बेच्ने गरेका छन् । यस्तो तरिकाले आफ्ना आफ्ना नामका पसल खोल्न खोजेका छन् मान्छेहरुले । हामीले त्यो पसल चल्न दिनु हुँदैन । अनावश्यक भाउ दिनु पनि हुँदैन ।’

यस्तै, उहाँले आसन्न स्ववियु निर्वाचनमा कसैको वैशाखी बिना एकताबद्ध भएर मैदानमा उत्रिएर विजय हासिल गर्न विद्यार्थी सङ्गठन अनेस्ववियूलाई आग्रह गर्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...