काठमाडौँ, २५ पुस । ऊर्जा तथा जलस्रोतमन्त्री दीपक खड्काले वर्तमान सरकारले राजनीतिक स्थायित्व दिनेदेखि आर्थिक समृद्धि दिने उद्देश्यका साथ ठुला कार्ययोजनाहरु प्रस्तुत गरेको बताउनुभएको छ ।
बिहीबार काठमाडौँमा आयोजित ‘ऊर्जा विकास मार्गचित्र–२०८१’ विमोचन कार्यक्रममा उहाँले नीतिगत सुधार, अर्थतन्त्रलाई चलायमान बनाउने र समृद्ध नेपाल निर्माण गर्ने लक्ष्यका साथ सरकारले काम गरिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘यो बलियो सरकारले मुलुकमा प्रगतीशिल कामहरु गर्न सक्नुपर्छ । राजनीतिक स्थायित्व दिनेदेखि आर्थिक समृद्धि पनि दिनुपर्छ भन्ने उद्देश्यका साथ ठुला ठुला कार्ययोजनाहरु हामीले प्रस्तुत गर्दै छौँ । अरु मन्त्रालयहरुले पनि नीतिगत सुधार र अर्थतन्त्रलाई चलाएमान बनाउने, स्रोतलाई अधिक्तम परिचालन गर्ने रोजगारी सिर्जना गर्ने र लामो समयदेखि भन्दै आएको समृद्ध नेपाल निर्माण गर्ने लक्ष्यका साथ सरकारले काम गरिरहेको छ ।’
यसका साथै, उहाँले बोलेर मात्र होइन काम गरेर देखाउनुपर्ने भन्दै प्रतिवेदनमा राखिएका लक्ष्य प्राप्तिका लागि अगाडि बढ्ने बताउनुभयो ।
उहाँले सार्वजनिक खरिद ऐनलाई पनि व्यवस्थित गर्नुपर्ने बताउनुभयो । ‘मलाई जोडेर चेक वितरण भएको कुरा आएको छ । मैले पढिरहेको छु, यो कल्पित कुरा हो र असम्भव हो । यस्ता विषयमा म त्यति आक्रोशित हुन चाहन्न । यसलाई चुनौतीका रुपमा लिएको छु । कसैले प्रमाणित गर्यो भने जीवनभर राजनीति नगर्ने मात्र होइन, यो प्रमाणित गरेर त्यो चेक मलाई दिनेलाई म त्योभन्दा पाँच गुना बढी पुरस्कार दिन्छु । यस्तो भ्रमित कुराको प्रचार प्रमाण बिना नगर्नुहोला,’ उहाँले भन्नुभयो ।