बाक्लो हुस्सुको कारण सिमरा विमानस्थलको उडान प्रभावित

17

रौतहट, २४ पुस । बाक्लो हुस्सुको कारण दुई दिनदेखि बाराको सिमरा विमानस्थलबाट हुने नियमित उडानहरू प्रभावित भएको छ ।

सिमरा–काठमाडौँ उडानका लागि २ हजार ३ सयभन्दा धेरै भिजिबिलिटी आवश्यक पर्छ । तर, भिजिबिलिटी कम हुँदा उडानहरू प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । सिमरा विमानस्थलका प्रमुख विष्णुप्रसाद अधिकारीका अनुसार पुसको दोस्रो सातादेखि नियमित उडानहरू प्रभावित भएका छन् ।

मौसममा देखिएको खराबीका कारण (कम भिजिबिलिटी)का कारण आज (बुधबार) पनि उडान प्रभावित भएको उहाँले जानकारी दिनुभयो । मौसमको कारणले पुस र माघको महिनामा तोकिएको समयमा उडान गर्न नसकिने उहाँको भनाइ छ । सिमरा विमानस्थलबाट काठमाडौँका लागि बुद्ध एयरलाइन्सले दैनिक ७ वटा, यतीले २ उडान भर्दै आएका छन् ।

सिमरा विमानस्थलबाट काठमाडौँका लागि दैनिक ८ देखि ९ सम्म उडानहरू हुने गरेको जनाएको छ । रौतहटसहित बारा, पर्सा, मकवानपुर, छिमेकी मुलुक भारतबाट दैनिक एक हजारदेखि १ हजार ५ सय यात्रुहरू सो विमानस्थलबाट सिमरा काठमाडौँ आवतजावत गर्ने गर्दछन् ।

Share This:
सम्बन्धित खबर
Loading...