काठमाडौँ, २३ पुस । जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले जगदुल्ला अर्ध जलाशययुक्त आयोजना (१०६ मेगावाट)को निर्माण कार्यको बोलपत्र आह्वानको प्रक्रियालाई लिएर ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्का र आफ्नो कम्पनीको चरित्रहत्या गर्न खोजिएको बताएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले मंगलबार एक विज्ञप्ति जारी गरी जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले निर्माण गर्न लागेको जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण कार्यको बोलपत्र आह्वानको विषयलाई लिएर केही सञ्चार माध्यमले आफ्नो कम्पनी र ऊर्जामन्त्रीको चरित्रहत्या गर्न खोजेको भन्दै गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो ।
‘यस जगदुल्ला जलविद्युत आयोजना निर्माण प्रवर्द्धनका लागि अन्तर्राष्ट्रियस्तरको ठेक्का आह्वान गर्नुपर्ने र उक्त स्तरको ठेक्का मूल्याङ्कन गर्नुपर्ने कार्य आफैँमा संवेदनशील विषय हो, ठेक्का मूल्याङ्कन क्रममा सार्वजनिक खरिद ऐन, कम्पनीको खरिद विनियमावली र स्टान्डर्ड बिडिङ डकुमेन्टका आधारमा प्राप्त बोलपत्रहरुको मूल्याङ्कन गरिएको अवस्था हो, उक्त ठेक्का प्रक्रियामा बोलपत्र दाखिला गर्ने बोलपत्रदाताहरुको बोलपत्र प्राविधिक रुपमा असफल भएकाले ठेक्का रद्द गरिएको स्पष्ट पार्न चाहन्छौँ,’कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
जगदुल्लाले आफ्नो कम्पनीको विषयसँग जोडेर मन्त्री खड्काको चरित्रहत्या गर्ने निहीत उद्देश्यका साथ विभिन्न सञ्चारमाध्यममा प्रकाशित तथ्यहिन, अनर्गल एवम् कपोलकल्पित समाचारप्रति गम्भीर आपत्ति जनाएको छ ।
‘यस कम्पनीको सञ्चालक समितिमा मन्त्रीज्यू संलग्न हुने कुनै कानुनी व्यवस्था छैन, साथै, मन्त्रालय र माननीय मन्त्रीज्यूको निर्देशन तथा सुझाव लिनुपर्ने बाध्यात्मक व्यवस्था समेत छैन, यस कम्पनीले आह्वान गरेको ठेक्का प्रक्रियामा माननीय मन्त्रीज्यूले कुनै चासो राख्नुभएको वा कुनै निर्देशन दिनुभएको छैन,’ विज्ञप्तिमा भनिएको छ ।
कम्पनीले यस्ता प्रकारका तथ्यहिन एवम् भ्रामक समाचारले यस कम्पनी र माननीय मन्त्रीज्यू एवम् मन्त्रालय जस्तो गरिमामय संस्थाको बदनामी गराउने र आम नागरिकमा भ्रम सिर्जना गर्ने कार्य गर्ने र कालान्तरमा मन्त्रालयजस्तो गरिमामय संस्थाको गरिमा घटाउने, आपसमा द्वन्द्व सिर्जना गराउने र आपसी विश्वासको वातावरण विथोल्ने जस्ता कार्यहरुमात्र हुने हुँदा मुलुकलाई नै नोक्सान पुग्ने अवस्था रहने बताएको छ ।