काठमाडौँ, २३ पुस । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन सम्बन्धमा छलफल भएको छ ।
मंगलबार सिंहदरबारस्थित समिति सभाहलमा बसेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा छलफल भएको हो ।
छलफलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले जहाजहरु खरिद गर्दादेखि नै नेपाल एयरलाइन्समा विभिन्न समस्याहरु देखिनै रहेको भन्दै सञ्चालन गर्ने मोडालिटीमा पारदर्शितादेखि टिकट बिक्री वितरणसम्ममा पारदर्शीता देखाउने गरी काम गर्ने उपाय खोज्नमा लागिपरेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो,‘पटक–पटक नेपाल एयरलाइन्सका विभागीय प्रमुखहरुसँग, कार्यकारी अध्यक्षसँग छलफल गरिरहेका छौँ । हाम्रा जहाजहरु खरिद गर्दादेखि नै विभिन्न मुद्दा वा विषयमा विभिन्न विवादहरु चलिरहेको विषय साथै सञ्चालन गर्ने मोडालिटीमा पारदर्शिता देखाउनुपर्ने एवम् टिकट बिक्रीमा देखिएका समस्याहरु समाधान खोजिरहेका छौँ ।
त्यस्तै, समिति सदस्य सुनिता बरालले नेपाल एयरलाइन्सको काउन्टरमा हुने सामान्य व्यवहारलाई पनि प्रश्न गर्नुपर्ने ठाउँमा पुग्नु दुःखद् रहेको बताउनुभयो ।
वायु निगम एउटामात्र बाटोले सेवाहरुसँग जोडिने विषय नभएकाले कर्मचारीहरुलाई टिकाइराख्नका लागि र निरन्तर प्रभावकारी बनाउन गर्नुपर्ने काममा कति निगमले प्रयास गरेको भन्ने कुरा पनि आउनुपर्ने बताउनुभयो ।