संविधान बदल्ने होइन, संशोधन गर्ने हो : प्रदीप ज्ञवाली

10

काठमाडौँ, २३ पुस । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले देशका समग्र समस्याहरुलाई संविधान संशोधनमार्फत् गर्ने प्रयास भइरहेको बताउनुभएको छ ।

मंगलबार काठमाडौँमा आयोजित संविधान संशोधनमाथि बौद्धिक बहस खोजपत्र प्रस्तुत तथा अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै उहाँले मुलुकमा क्रान्तिले जगाएको अपेक्षा र अहिलेको डेलिभरीका बीचमा भएको ठुलो अन्तरले मुलुकमा समस्याहरु आइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘मुलुकमा अहिले धेरै समस्या छन् । क्रान्तिले जगाएको अपेक्षा र अहिलेको हाम्रो डेलिभरीको बीचमा ठुलो अन्तर छ । सबै समाधान संविधानमार्फत् नै होस् भनेर संविधान संसोधन गर्न खोजिरहेको छौँ । के कारणले आजको समस्या आएको छुट्याउन पर्ने छ । कति संविधानका अन्तरनीहित कमजोरीका कारणले भएका छन् र कति चाहिँ संविधानभित्र अभ्यास गर्ने पात्र, संस्था र प्रवृत्तिहरुका कारणले समस्या आएको छ । त्यसलाई हेर्न आवश्यक छ ।’

त्यस्तै, उहाँले सबै कुराको समाधान संविधान संशोधनमा खोज्ने र समाधान भएन भने संविधान नै बदल्ने सोचले कहीँ पुग्न नसकिने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो,‘सबै कुराको समाधान संविधानमा खोज्ने, संविधान संशोधनमा खोज्ने र त्यो समाधान भएन भने संविधान नै बदल्नतिर लाग्ने तरिकाले चाहिँ कहीँ पुग्दैनौँ जस्तो मलाई लाग्छ ।’

सोही कार्यक्रममा बोल्नुहुँदै नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले स्थानीय तहमा पार्टीले समर्थन गर्न पाइने तर पार्टीको चिन्ह प्रयोग गर्न नपाइने खालको निर्वाचन पद्दति निर्माण गर्नुपर्ने धारणा राख्नुभयो । देशभरि कांग्रेस एमाले माओवादी र मधेस केन्द्रित दलहरुको प्रभुत्तको कारणले संघीयता विकास हुन नसकेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो,‘स्थानीय तहलाई यही रुपमा लाने हो भने पार्टीले समर्थन गर्न पाइने तर पार्टीको चिन्ह प्रयोग गर्न नपाइने खालको निर्वाचन पद्दति हुनुपर्छ । त्यो भयो भने मानिस अलिकति भए पनि केही हदमा स्वतन्त्र हुन्छ । देशभरि कांग्रेस, एमाले, माओवादी र मधेस केन्द्रित दलहरुको प्रभुत्तको कारणले संघीयता स्वभाविक रुपमा विकास हुन नसकेको हो ।’

त्यस्तै, उहाँले अहिले कारोबारी राजनीति भइरहेको भन्दै यसबाट ननिस्कँदासम्म संविधान संशोधन गर्न नसकिने बताउनुभयो । कारोबारी मानसिकतामा संविधान संशोधनमा हात हालेका संविधानमा आगो लाग्ने उहाँको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...