पोखरा, २३ पुस । पोखरा महानगरपालिका वडा नम्बर २३ स्थित बाम्दीमा सञ्चालित ‘पोखरा मोटो–इन्डुरो क्रस च्याम्पियनसिप–२०२४’को नाममा ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पोखरा राइडर्स क्लबका अध्यक्ष सोनिक क्षेत्री समेत दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
गएको वर्ष चैत २३ र २४ गते बाम्दिमा सञ्चालित उक्त च्याम्पियनसिपमा प्रथम भएको समूहलाई पुरस्कार बापतको एक लाख ५० हजार रुपैयाँ नदिएको आरोपमा प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर ५ प्रस्याङ निवासी २९ वर्षीय क्षेत्रीको साथमा उक्त च्याम्पियनसीपका सञ्चालक तथा निर्देशक अछामको सिउडी गाउँपालिका वडा नम्बर १ स्थायी घर भइ हाल पोखरा ६ जरेबर बस्ने ३१ वर्षीय जगत डोलीलाई पनि पक्राउ गरिएको प्रहरीले बताएको छ ।
पोखराको लेकसाइडबाट पक्राउ परेका उनीहरुविरुद्ध कास्की जिल्ला अदालतबाट ठगीसम्बन्धी कसूरमा सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
उनीहरुले उक्त च्याम्पियनसीपमा सहभागी हुन समूह दर्ता शुल्क बापत १७ हजार रुपैयाँ लिएको भए पनि च्याम्पियनलाई दिनुपर्ने एक लाख ५० हजार पुर्याइ नदिएको र पैसा दिनुको सट्टा लुकिछिपी हिँडेपछि प्रहरीमा उजुरी परेको प्राप्त समाचारमा जनाइएको छ ।