माग सम्बोधन गर्ने शिक्षामन्त्रीको आश्वासनपछि नेत्र चापागाईंलेले तोडे धर्ना

19

काठमाडौँ, २२ पुस । नेपाल समाजवादी विद्यार्थी युनियनका केन्द्रीय अध्यक्ष नेत्र चापागाईंले आफ्नो धर्ना तोड्नुभएको छ ।

नयाँ शिक्षा ऐन तत्काल जारी गर्नुपर्नेलगायतका माग राखेर धर्ना दिइरहनुभएका चापागाईंले सोमबार शिक्षामन्त्री विद्या भट्टराईको भेटपछि धर्ना तोड्नुभएको हो ।

शैक्षिक सुधारको माग लिएर माइतीघर मण्डलामा हप्ता दिनदेखि उभिएर धर्नामा बसेका चापागाईंको स्वास्थ्य अवस्था बुझ्न र संवाद गर्न शिक्षामन्त्री विद्या भट्टराई माइतीघर मण्डला जानुभएको थियो । चापागाईंलाई भेटेपछि मन्त्री भट्टराईले सबै मागहरु पूरा गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

उहाँले भन्नुभयो,‘तपाईंले गरेका धेरै मागहरु सम्बोधन गर्न सकिने छन् । सरकारले पूरा गर्ने छ । मैले यो सब बोल्नका लागि मात्र बोलेको होइन । केही कुराहरु कार्यदल बनाएर सुरु भइसकेका छन् । कार्यदलले दिएको सिफारिसका आधारमा आउने बजेटमा नीति कार्यक्रमहरुलाई लगेर जान्छु । मैले गरेका कुराहरु भए की भएन भनेर भोलि जवाफदेहिता खोज्ने अधिकार मसँग रहन्छ । मन्त्री हुँदा कार्यान्वयन गर्छु, भएन भने पनि संसद्मा रहन्छु र सरकारलाई काम गर्नका लागि अगाडि बढाउछु ।’

शैक्षिक क्षेत्र सुधारको मागसहित आन्दोलन सुरु गरेका चापागाईं सातै प्रदेशमा दुई–दुई घन्टा उभिएर काठमाडौँ आउनुभएको थियो । काठमाडौँमा उहाँ उभिन थालेको सोमबार आठौँ दिन हो । खुट्टा सुन्निएपछि उहाँले बैशाखीको सहारामा उभिएर आन्दोलनलाई निरन्तरता दिनुभएको थियो ।

विद्यार्थीको छात्रवृत्ति पाँच हजार बनाउनुपर्ने, विद्यालयमा सय युनिट बिजुली र पानी निःशुल्क गर्नुपर्ने उहाँको माग थियो । यसैगरी उनले विद्यार्थी, शिक्षक र कर्मचारीसँग सम्बन्धित सार्वजनिक शिक्षा सुधारका १५ सुत्रीय माग राख्नुभएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...