हात्तीको उपद्रो : १२ भन्दा बढी घरमा क्षति

13

रौतहट, २२ पुस । रौतहटको दुई पालिकाको विभिन्न स्थानमा रहेको बस्तीमा १२ भन्दा बढी घर हात्तीले भत्काइदिएको छ ।

जङ्गली हातीको बथानले करिब दुई साताअघि चन्द्रपुर नगरपालिकामा ८ र फतुवा विजयपुर नगरपालिकामा ४ घर भत्काएको हो । चन्द्रपुर नगरपालिका वडा नम्बर ३ गैडाटारमा ७ र वडा नम्बर २ को जुडिबेलामा एक घर भत्काएको छ । गैँडाटारका स्थानीय नवीन तामाङका अनुसार सन्त बहादुर रुम्बा, मीना राई, छेनाम सिंह लोप्चन, बली माया लोप्तन, बोम्जन साइला, सुबास थोकर, साइला गोलेको घर जङ्गली हातीले भत्काइदिएको छ ।

हातीले जुडिवेलामा रहेको एक घर भत्काएको छ भने कालापानी सामुदायिक वन उपभोक्ता समूहको वनक्षेत्रमा निर्माण पार्क र पानी घट्टमा पनि क्षति पुर्‍याएको उहाँले बताउनुभयो । चन्द्रपुर नगरपालिकाअन्तर्गत वडा नम्बर २ को जुडिबेला, ३ गैँडाटार , वडा नम्बर ४ कप्तानटोल र जंगलटोल क्षेत्रमा हात्तीले घर, टहरा, गोठ र धानको भकारी भत्काउनुका साथै किसानको बालीमा समेत क्षति पुर्‍याउदै आएपछि यहाँका बासिन्दा चिन्तित भएका छन् ।

फतुवा विजयपुर नगरपालिका वडा नम्बर ११ वुटवा बस्तीमा ४ घर हात्तीले भत्काइदिएको छ । स्थानीय विजय चौधरीका अनुसार उदय चौधरी, मिलन मगर, हरिशरण मैनालीलगायतका घरमा हातीले क्षति पुर्‍याएको छ ।

विगत केही महिनादेखि नगरभित्र रहेको जंगलमा देखा परेको हात्ती बेलुका र बिहान बस्ती नजिकमा आउने गरेको स्थानीयले बताएका छन् । हात्तीले केरा खेतीमा बढी क्षती गरेको किसानको गुनासो छ ।

सामुदायिक वन क्षेत्रमा ७/८ वटा समूहमा नै हात्ती देखा परेको उनीहरु बताउँछन् । उनीहरुका अनुसार हात्ती यस क्षेत्रको वन वारिपरि नै छ । गाउँ नजिकै रातिको समयमा हाती देखा पर्न थालेपछि वरपरका बासिन्दा रातभर त्रासमा बस्ने गरेका छन् । रातैभर हात्तीको उपद्रोका कारण सुत्न समेत नपाएको गाउँलेहरुको गुनासो छ ।

गाउँ नजिक सामुदायिक वन रहेकाले त्यहीँबाट हात्ती प्रवेश गरेको हुन सक्नै भन्दै सतर्कता अपनाउन सबैमा डिभिजन वन कार्यालय रौतहटले सुझाव दिएको छ । जङ्गली हात्ती हिँड्ने सम्भावित बाटोमा यात्रा गर्दा सावधानी अपनाउन र झिसमिसेमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...