ऊर्जा क्षेत्रमा प्राविधिक जनशक्तिको ठुलो अभाव छ : मन्त्री खड्का

16

काठमाडौँ, २१ पुस । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले देशमा प्राविधिक जनशक्तिको ठुलो अभाव देखिएको बताउनुभएको छ ।

आइतबार पुल्चोक क्याम्पसमा प्रयोगशाला उद्घाटन समारोहमा बोल्नुहुँदै उहाँले ऊर्जा क्षेत्रमा ठुलो धनराशी खर्च भइरहेको भए पनि जनशक्तिको ठुलो अभाव रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘ऊर्जा क्षेत्रमा ठुलो धनराशी खर्च भइरहेको छ । यस्तो खर्च भइरहँदा हाम्रो जनशक्ति कमजोर देखिएको छ । अस्ति मात्र म केही प्रोजेक्टहरु निरीक्षणमा जाँदै गर्दा टर्बाइनहरु रिपेरिङ गर्ने बेलामा जनशक्तिको असाध्यै ठुलो अभाव देखियो । त्यसकारण हामीलाई चाहिने जनशक्ति उत्पादन गरेर यहीँ सदुपयोग गर्न पाइयो भने अरुको भर पर्न पर्दैन । रोजगारी पनि सिर्जना हुन्छन् ।’

मन्त्री खड्काले पछिल्लो समय नयाँ नयाँ प्रविधिहरु आइरहँदा प्रविधिलाई सुरक्षित गर्न के गर्न सकिन्छ भनी अध्ययन अध्यापन अत्यन्तै जरुरी रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘हरेक घरमा विद्युतीय सामग्री हुन्छन् । जोखिम खालका हुन्छन् । नयाँ नयाँ प्रविधिहरु आइरहेको छन् । त्यो प्रविधिको प्रयोग धेरै भन्दा धेरै गर्नुपर्ने छ । त्यसकारणले पनि यस्ता प्रविधिहरुलाई सुरक्षित गर्न के गर्न सकिन्छ भनी अध्ययन अध्यापन अत्यन्त गर्न जरुरी छ, थियो र भइरहेको छ ।’

त्यस्तै, ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्यले मुलुकभर विद्युतीकरण गर्दै बढीभन्दा बढी उत्पादित विद्युतलाई अन्तरदेशीय प्रसारण लाइनमार्फत् विद्युत् व्यापार गर्ने उद्देश्यले राष्ट्रिय मार्गचित्रको आधारमा अगाडि बढिरहेको बताउनुभयो ।

सोही कार्यक्रममा बोल्दै विद्युत् नियमन आयोगको अध्यक्ष डा.रामप्रसाद धितालले उत्पादकको प्राविधिक, प्रसारणका प्राविधिक पाटाहरुमा हुने कार्यान्वयनमा नियमनकारी भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाउनुभयो ।

उहाँले भन्नुभयो,‘प्राविधिक विषयको कुरामा हामीले उत्पादकको प्राविधिक पाटाहरुमा, प्रसारणका प्राविधिक पाटाहरुमा वितरण र हाम्रा घरभित्रको प्राविधिक पाटाहरुमा मापदण्ड बनाउने र त्यसलाई कार्यान्वयन गर्ने भएको हुनाले यस्तो कामलाई कार्यान्वयन हुन्छ । पछि कार्यान्वयनमा नियमनकारी भूमिकामा जाने छौँ।’

Share This:
सम्बन्धित खबर
Loading...