सुर्खेत, २१ पुस । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अहिले भइरहेको विकासको मोडल बदल्न आवश्यक रहेको बताउनुभएको छ ।
भूकम्प प्रभावित क्षेत्रका प्राविधिकहरुलाई भवन संहितासम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रमको आइतबार वीरेन्द्रनगरमा उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री कँडेलले अहिले भइरहेको जथाभावी विकासको मोडल बदल्न नसकिए विपत्तिको चपेटा मुक्त हुन नसकिएको बताउनुभयो ।
मुख्यमन्त्री कँडेलले जहाँ देख्यो त्यहीँ माटो खन्ने र जमिन भत्काउने प्रचलन बढेकोमा चिन्ता व्यक्त गर्दै त्यसलाई रोक्न प्राविधिकहरु नै अघि सर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्राविधिकलाई पन्छाएर डोजर चढेर हिँड्नेहरुले सडक मूल्याङ्कन गरिरहेको म देख्छु, यसबाट हामी बच्न सक्नुपर्छ ।’
विकासको आवश्कताभन्दा रोजगारीलाई केन्द्रित बनाएर गरिने विकासको मोडलले धेरै गाउँ बस्ती जोखिममा परेको चर्चा गर्दै मुख्यमन्त्री कँडेलले जनप्रतिनिधिले जहाँ जहाँ भन्छन् त्यहीँ जमिन भत्काउने कामलाई निरुत्साहन गर्न पनि प्राविधिकलाई सुझाव दिनुभयो ।
मुख्यमन्त्री कँडेलले भन्नुभयो,‘विकास कसरी गर्ने र त्यसको दीर्घकालीन असर के हुन्छ भन्ने विषयमा तपाई प्राविधिकले नै सही निर्णय गरेर जनप्रतिनिधिलाई उपयुक्त सुझाव दिने हो, ‘विकासको मोडललाई दीर्घकालीन र जोखिमरहित बनाउन तपाईहरुकै भूमिका रहन्छ ।’
सबै तहका सरकारसँग चाहिए जति रकम नभए पनि भइरहेको रकमको पनि उचित सदुपयोग नभएको मुख्यमन्त्री कँडेलको भनाइ थियो । मुख्यमन्त्री कँडेलले भन्नुभयो, ‘हामीसँग चाहिएको जति पैसा त छैन तर भइरहेको बजेटबाट पनि प्राथमिकता र आवश्यकतामाथि धेरै ध्यान पुगेको देखिन्न ।’
मुख्यमन्त्री कँडेलले कर्णाली प्रदेश विपद्को उच्च जोखिममा रहेकाले यहाँ बन्ने संरचनाहरु अरुभन्दा जोखिमरहित हुनुपर्नेमा ध्यान दिन पनि प्राविधिकहरुलाई सुझाव दिनुभयो ।
नगर विकास कोषले आयोजना गरेको उक्त कार्यक्रममा गत कार्तिक २२ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट क्षतिग्रस्त संरचना पुनःनिर्माणका लागि दुई जिल्लाका ३० जना इन्जिनियरहरु सहभागी रहेको कोषका कार्यकारी निर्देशक विनोद प्रकाश पण्डितले जानकारी दिनुभयो ।